रविले सोझो राईलाई अध्यक्ष बनाएर सहकारीको करोडौं रकम अपचलन गरे : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले तत्कालीन समयमा टिभीको कार्यक्रम प्रस्तोता रवि लामिछानेले सोझो राई (जीवी राई)लाई गोरखा मिडिया नेटवर्क प्रा.लि.को अध्यक्ष बनाएर करोडौं रुपियाँ अपचलन र ठगी गरेको बताएका छन् ।

बिहीबार मकवानपुरको थाहा नगरपालिका– ७, आग्रा, चल्ती, बाहुनचौरस्थित श्री चन्द्रसूर्य सामुदायिक संस्था नेपालको निर्माणाधीन भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले सिधासादा जीवी राईलाई अध्यक्ष बनाएर रवि लामिछाने आफू टेलिभिजनको प्रबन्ध निर्देशक बनेर सहकारीका हजारौँ बचतकर्ताको रकम अपचलन र ठगी गरेको बताए ।

कांग्रेसले सहकारीको करोडौं रकम अपचलन र ठगी भएको विषयमा गृहमन्त्री रवि लामिछानेको राजीनामा मान नगरेको बताए । उनले सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथि अनुसन्धान र छानविन गर्न संसदीय समितिको माग गरिएको बताए ।

उनले भने, ‘आज रवि लामिछानेलाई हजारौँ सहकारीका बचतकर्ताको कुरा आएको छ । एउटा टिभीमा लगानी गर्नलाई जीबी राईलाई अध्यक्ष बनाएर, एउटा सोझो राईको बच्चालाई अध्यक्ष बनाएर टिभीमा उहाँ हिजो प्रोग्राम चलाउने, ग्यालेक्सी फोरके टिभी भनेर खोल्ने, त्यसको एमडी आफू हुने, भएभरको सबैतिरको सहकारीको पैसा तानेर ऋण लिने, ऋण लिएर टिभी चलाउने, अनि त्यो टिभीको कार्यकारी निर्देशक भएर अहिले आएर मेरो केही जिम्मेवारी छैन भन्ने ?’

‘राजीनामा पनि दिनु परेन, संसदीय छानविन समिति त बन्नु पर्‍यो नि ? भनेर कांग्रेसले आवाज उठाइरहँदा जोरजबरजस्ती गरेर दम्भ देखाएर प्रजातन्त्रमा आज संसदीय मर्यादामा नआउने’, उनले भने, ‘दम्भ देखाएर संसदमा जोरजबरजस्त गरिरहेको छ, बल मिचाहा गरिरहेको छ । यो कुराले कम्युनिस्ट भनेको बास्तवमा लोकतान्त्रिक चरित्र नभएको पार्टी रहेछ ।’

सभापति बानियाँले भने, ‘रवि लामिछानेले जे कार्य देखाइरहेका छन् त्यो लोकतान्त्रिक चरित्र होइन । कम्युनिस्टसँग जोडिएका जुनकिसिमको चरित्र देखिन्छ त्यसले के भन्छ भने कम्युनिस्ट भनेको कम भरोसा, कम विश्वास जनतालाई गर्ने, बन्दुकलाई बढि भरोसा गर्ने भएको हुनाले कम्युनिस्ट भएको हो ।’

उनले भने, ‘सशस्त्र विद्रोह गरेर हिँडेको माओवादीलाई जंगलबाट जनताको बीचमा कांग्रेसले ल्यायो । सदनमा पु¥यायो, प्रधानमन्त्री बनायो, तैपनि आज जिम्मेवार हुनुभएको छैन ।’

‘प्रतिपक्षले भनिरहेको छ उहाँलाई हिजो कांग्रेससहितको माओवादी सरकारमा हुँदा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा माओवादीको नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा राजस्व सम्बन्धी सूचना लिक भयो, उहाँले गलत गर्नुभयो आर्थिक घाटा भयो, व्यापारीलाई फाइदा भयो, अर्थमन्त्रीले आफ्नो अधिकार दुरुपयोग गरेर गलत गर्नुभयो भन्दै गर्दा प्रतिपक्ष एमाले हुँदा नाराजुलुस, धरपकड नगरिकन संसदीय छानविन समिति चाहियो भन्नेवित्तिकै कांग्रेसले संसदीय समिति बनाइदियो’, बानियाँले भने ।

‘छानविन भयो, प्रमाण नभएपछि, संलग्नता नभएपछि फेरि अर्थमन्त्रीमा जनार्दन शर्मा आउनुभयो’, उनले भने, ‘कांग्रेस प्रधानमन्त्री हुँदा आफ्नो अर्थमन्त्रीलाई राजीनामा दिन पनि लगायो । संसदीय समिति पनि बनाउन लगायो ।’

सभापति बानियाँले अलिहे जनतालाई दिन प्रतिदिन निराशा भएको बताएका छन् ।

‘जनतालाई किन निरासा भयोभन्दा यो गणतन्त्रभित्र भएको निर्वाचन प्रणाली जो निर्वाचन प्रणालीले गर्दा मुलुकमा स्थिर सरकार कसैको नहुने भयो । स्थिर सरकार नभएपछि विकासले गति पाएन । अहिलेको निर्वाचन प्रणाली, अहिलेको व्यवस्थाको प्रगतिको बाधकको रुपमा रहेको हुनाले अब आउने २०८४ को निर्वाचन प्रत्यक्ष निर्वाचनमा जानुपर्ने, यो अहिले भएको वर्तमान व्यवस्था असमान निर्वाचन प्रणाली, यो मिश्रित निर्वाचन प्रणाली खारेज गर्नुपर्ने अवस्था देखिन्छ । यसलाई संशोधन गरेर त्यो बाटोमा जानुपर्छ’, सभापति बानियाँले भने ।

बानियाँले जनतालाई आयआर्जनमा जोड्नुपर्ने बताएका छन् । त्यसका लागि सिप र तालिम तथा पुँजीको व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, गाउँलाई कामुखी कसरी बनाउने ? वडा, पालिका, प्रदेशमार्फत हामीले गणतन्त्रलाई बलियो बनाउनको लागि निर्वाचन प्रणाली जस्तै गाउँगाउँ मान्छेलाई सिप र तालिमको व्यवस्था हुनुपर्छ । मान्छेलाई कामसँग जोड्नुपर्छ । तालिम र सिपसँगै पुँजीको व्यवस्था गर्नुपर्छ । पुँजी भएन भने कर्मले गति लिन सक्दैन ।’

सभापति बानियाँले अहिले नेपालको राजनीति तरल भएको बताएका छन् । ‘हामीले ल्याएको गणतन्त्र कस्तो गणतन्त्र भयो ? जनतालाई शान्ति चाहिएको थियो । माओवादीको सशस्त्र विद्रोहले गाउँ र बस्तीमा भय र त्रास थियो । भय र त्रासको अन्त्यका लागि जनताले शान्ति चाहियो भनेको थियो’, उनले भने ।

‘शान्तिको नेतृत्व नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले गरेर माओवादीसँग शान्ति प्रक्रिया गरेर नेपाली जनतालाई भय र त्रासबाट मुक्तको लागि शान्ति प्राप्त भयो । मुलुकलाई संविधान दिने काम भयो । गणतन्त्र पनि आयो, संघीयता र समावेशिता पनि आयो । धेरै महिलाहरू वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म उपस्थिति भयो’, बानियाँले भने ।

Published : Friday, 2024 May 24, 12:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया