सहकारी ठग र गिरिबन्धुको जग्गा घोटालाको कारबाहीको मागसहित तरुण दलद्वारा कोटेश्वरमा राँके जुलुस प्रदर्शन

काठमाडौं । सहकारीको करीव १ अर्ब रुपियाँ अपचलन र ठगी अभियोग लागेका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानविन समिति र एमालेद्वारा गिरिबन्धु टि इस्टेटको जग्गामा भएको नीतिगत भ्रष्टार छानविनको माग गरेर नेपाल तरुण दलले काठमाडौंमा राँके जुलुस निकालेको छ ।

बिहीबार साँझ कोटेश्वरमा तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीको संयोजनमा राँके जुलुस प्रदर्शन भएको हो । राँके जुलुसलाई तरुण दलका अध्यक्ष विद्वान गुरुङले राँको हस्तान्तरण गरेका थिए । तरुण दलले सरकारविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको छ ।

नालायक गृहमन्त्री राजीनामा दे, जीवी राई कहाँ छ ? रविलाई थाहा छ, कैलाश सिरोहियालाई रिहा गर, प्रेस स्वतन्त्रता जिन्दावाद, सहकारी ठगलाई कारबाही गर, गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति गठन गर, अधिनायकवादी सरकार मुर्दावाद भन्दै तरुणहरूले राँके जुलुस प्रदर्शन गरेको केन्द्रीय सदस्य अशोक झाले बताएका छन् ।

तरुण दलले काठमाडौं उपत्यका विभिन्न स्थानमा दैनिकरुपमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरिरहेको छ ।

राके जुलुस कोटेश्वरचोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई तरुण दल केन्द्रीय सदस्य झाले सम्बोधन गरेका छन् । उनले सहकारी ठगलाई कारबाही गर्नुपर्ने र संसदीय छानविन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई पूरा गराउन तरुणहरू निरन्तर आन्दोलनमा रहने बताए ।

केन्द्रीय सदस्य झाले कांग्रेसले जेठ १३ गते काठमाडौंकमा गर्न लागेको प्रदर्शनलाई सफल बनाउन अनुरोध गरेका छन् । उनले जेठ १३ गते ११ बजेर ३० मिनटमा रत्नपार्कको शान्तिबाटिकामा जम्मा हुन सम्पूर्ण तरुणहरूलाई आग्रह गरेका छन् ।

Published : Thursday, 2024 May 23, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया