जलवायु परिवर्तनको प्रभावले हिमताल फुट्ने जोखिम बढेको छ : सभापति डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणाले दिगो विकासले लिएको लक्ष्य अनुरुपको प्रगति नभएको बताएकी छिन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को ‘जलवायु न्याय, समानता र स्थानीय आवाज : लिङ्ग र युवा’ विषयक सत्रलाई सम्बोधन गर्दै डा.राणाले लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताइन् ।

उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएकी छिन् ।

डा.राणाले जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरूको क्षमता बढाउनुपर्ने बताइन् । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्ने उनले बताएकी छिन् ।

‘स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ’, सभापति डा.राणाले भनिन् ।

‘जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानूनीरुपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ’, उनले भनिन् ।

सभापति डा.राणाले पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको बताएकी छिन् ।

‘जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ’, डा.राणाले भनिन् ।

‘जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्वपूर्ण छ, उहाँहरूले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरहनुभएको छ’, उनले भनिन् ।

‘जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुनेगरी काम गर्नुपर्छ’, सभापति डा.राणाले भनिन् ।

Published : Thursday, 2024 May 23, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया