सहकारी ठगका आरोपी गृहमन्त्री र अधिनायकवादी सरकारविरुद्ध रणनीति बनाउन तरुण दलले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले आह्वान गरेको सडक आन्दोलनको तयारी स्वरुप नेपाल तरुण दलले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे कुपण्डोल बैंक्वेट, कुपण्डोल, ललितपुर बैठक राखिएको अध्यक्ष विद्वान गुरुङले बताएका छन् । उनले बैठकमा अनिवार्य उपस्थितिको लागि केन्द्रीय सदस्यहरूलाई निर्देशन समेत दिएका छन् ।

बैठकमा सांसद समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य सदस्य एवम् तरुण दलका पूर्वअध्यक्ष जीतजङ्ग बस्नेतलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । आन्दोलनका तयारीका विषयमा बस्नेतले विशेष निर्देशन पनि दिनेछन् ।

सरकारको अधिनायकवादी चरित्र र सहकारी ठगका आरोपी गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसले सडक आन्दोलन घोषणा गरेको छ । आन्दोलनलाई सहयोग गर्नका लागि तरुण दलले तयारी शुरु गरेको छ ।

कांग्रेसले जेठ १३ गते काठमाडौंको भृकुटीमण्डपमा सरकारको गैरजिम्मेवार, अनुदार, स्वेच्छाचारी, अलोकतान्त्रिक र निरंकुश चरित्रविरुद्ध वृहत् प्रदर्शन गर्न लागेको छ ।

बैठकमा तरुण दलका केन्द्रीय सदस्य, बागमती प्रदेशभित्रका र उपत्यकामा रहेका जिल्ला अध्यक्षलाई बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ ।

Published : Thursday, 2024 May 23, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया