सिरोहियालाई प्रतिशोधमा पक्राउ गरेपछि तरुण दलद्वारा सहकारी ठगका आरोपी गृहमन्त्रीको राजीनामा माग

जनकपुर । सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले जनकपुरधाममा प्रदर्शन गरेको छ ।

बुधबार तरुण दलले जनकपुरधाममा गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन गरेको हो । इर्ष्या र द्वेष साध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरिएको तरुण दलले जनाएको छ ।

तरुण दलले जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा जाने मुख्यबाटोमा तरुण दलका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

सिरोहिया जनकपुरका पुराना बासिन्दा रहेको र उनको नागरिकतामाथि कुनै कैफियत नरहेको भन्दै प्रदर्शन गरिएको केन्द्रीय सदस्य मानवेन्द्र निधिले बताएका छन् ।

‘हामी कैलाश सिरोहियालाई बाल्यकालदेखि नै चिनेका हौँ । उहाँको घर, मेरो घर अगाडि नै छ । उहाँका बाजे, बाबु, दाई सबै यहाँका बासिन्दा हो’, उनले भने ।

गृहमन्त्री लामिछानेले सहकारीको करोडौं रकम अपचलन र ठगीका कर्तुत् लुकाउन बदलाको भावले संचार जगत र जनकपुरबासी, तराइबासीलाई नै लक्षित गरेर सिरोहियालाई पक्राउ गरेको केन्द्रीय सदस्य निधिले बताए ।

निधिले भने, ‘हाम्रो सिङ्गो पार्टीनै संसदीय छानविन समिति बन्नुपर्छ भन्दै आएको छ । कान्तिपुरमा समेत सहकारी ठगीबारे निरन्तर समाचार आउँदै गर्दा रिसको झोंकमा गृहमन्त्रीले संचार जगतलाई टारगेट गर्न खोजेको हो ।’

‘गृहमन्त्री लामिछानेले राजीनामा नै दिनुपर्छ भन्ने हाम्रो माग रहेको छ’, तरुण दलका केन्द्रीय सदस्य निधिनले भने ।

Published : Thursday, 2024 May 23, 9:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया