प्रतिशोध राखेर सिरोहियालाई पक्राउ गरेपछि सरकारविरुद्ध प्रेस युनियनद्वारा प्रदर्शन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे निरन्तर समाचार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रही राखेर पक्राउ गरेपछि विरोधमा नेपाल प्रेस युनियनले प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा युनियनका पदाधिकारी र सदस्यहरूले पूर्वाग्रही भएर सिरोहियालाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गरिएको महासचिव नकुल अर्यालले बताए ।

नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशले सरकारबाट स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राख्ने प्रतिशोधपूर्ण व्यवहार प्रदर्शन भएको भन्दै प्रदर्शन गरिएको अर्यालले बताए ।

समाचार लेखेकै कारण प्रतिशोधपूर्ण तरिकाले सञ्चार उद्यमी र सञ्चार कार्यालयमा ठूलो संख्यामा हतियारधारी प्रहरी परिचालन गरी सञ्चारकर्मीलाई त्रसित बनाउने काम भएकाले आफूहरू आन्दोलनमा उत्रनु परेको प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले बताएका छन् ।

सिरोहियालाई नागरिकता कीर्ते गरेको आरोपमा नेपाल प्रहरीले मंगलबार थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ । दोहोरो नागरिकता र राहदानी बोकेका लामिछाने गृहमन्त्री छन् । लामिछाने र सिरोहियालाई कानून पनि फरक फरक लागू भएको भन्दै आलोचना हुँदै आएको छ ।

Published : Wednesday, 2024 May 22, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया