मार्शल लगाउने प्रचण्ड र सहकारी ठगका आरोपी गृहमन्त्रीलाई खतिवडाको जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मूल्य कांग्रेसले चुकाउनुपर्ने कि अरू कसैले चुकाउनुपर्ने भोलिका दिनहरूमा देखिने बताएका छन् ।

सोमबार संसद भवन परिसरमा सम्वाददाताहरूसँग कुरा गर्दै खतिवडाले मार्सल लगाएर विश्वासको मत लिनेले कि संसदीय मान्यताअनुसार जानुपर्ने माग गर्नेले मूल्य चुकाउनुपर्ने हो ? त्यो भोलिका दिनहरूमा देखिने बताए ।

प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने क्रममा वेल घेरेर कांग्रेसले गलत गरेको र यसको मूल्य चर्को पर्ने चेतावनी दिएका थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भने, ‘प्रधानमन्त्रीको भनाइप्रति यति छ । त्यो मूल्य कसले चुकाउनुपर्ने हो, भोलि हेर्दै जाऔंला ।’

उनले भने, ‘कसले कहाँ मूल्य चुकाउनुपर्ने हो हेर्दै जानु होला । संसदीय प्रजातन्त्रमा मार्शल लगाएर विश्वासको मत लिनेले मूल्य चुकाउने कि हामी पद्धतिअनुसार, संसदीय मान्यताअनुसार, संसदअनुसार, संविधानअनुसार जानुस् भन्दा मूल्य चुकाउने त्योबारेमा भोलि छलफल होला ।’

‘हामीले गरेको गतिविधि के देख्नुभयो ? हामीले सभामुखलाई जबरजस्ती संसद नचलाउनुस् भन्दा त्योभन्दा नराम्रो गतिविधि केही होला ? जबरजस्ती संसद नचलाउनुस् प्रमुख प्रतिपक्ष लगायतका प्रतिपक्षहरू वेलमा बसेका बेला प्रक्रियामा नजानुस् भनेका छौँ । अरु केही गतिविधि देख्नुभयो ?’, सांसद खतिवडाले भने ।

‘रोष्टमबाट हिजोको एकजना गृहमन्त्रीका प्रस्तावित व्यक्तिले जसलाई सहकारी ठगको ठूलो अभियोग लागेको छ, करीव करीव प्रमाणित भएको छ, त्यस्तो व्यक्तिले ज–जसको बारेमा कमेन्ट गर्नुभयो त्योबारेमा एउटा भनाइ छ …एउटा जनवारले टोक्यो भनेर त्यसको खुट्टा टोक्नु हुँदैन भन्छन् । हुन त जुन संस्कृति, जुन संस्कार जहाँबाट उठेको हो त्यही प्रस्तुति हुन्छ ।’

आइतबार गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्ति सुन्दा उनी पद गरिमा सुहाउँदो व्यक्ति नभएको पुष्टि भएको खतिवडाले बताएका छन् ।

उनले भने, ‘भोलि भविष्यका सन्तान र सन्ततीले कस्ता मान्छेलाई तिमीहरूले पदमा पुर्‍याएको भनेर सोध्दा के जवाफ दिने भन्ने चिन्ता भएको छ ।’

Published : Monday, 2024 May 20, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया