गृहमन्त्रीज्यू राजीनामा मागेको होइन, सहकारी ठगलाई कारबाही गरौँ भनेको हो : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारीका ठगहरूलाई कारबाही र सहकारीपीडितहरूलाई न्यायको माग गरेका छन् ।

मंगलबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल महिला संघले सहकारी ठगका आरोपी गृहमन्त्री रवि लामिछानेविरुद्ध आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै गुरुङले सहकारीपीडितलाई न्याय दिन उनीहरूको रकम फिर्ता गर्नुपर्ने बताए । उनले मुलुकको आर्थिक अवस्थाले गर्दा समस्यामा रहेका गरिव जनताहरूलाई सहकारीका ठगहरूले झन् दुःख दिएको बताए ।

उनले भने, ‘पसलमा जाँदा ग्राहकहरू छैनन् । यो देशका व्यापारी, मजदुरहरू सडकमा छन् । नेपाल संसारका मुलुकहरूभन्दा यो भिन्दै मुलुक हो ।’

‘सीमित नेपालीहरूको बैंक लगायत विभिन्न सेक्टरमा पहुँच होला । नेपालका खुद्रा पसलेहरू । मजदुर, किसानहरूको बैंक सेक्टर छैन । नेपालका विभिन्न शहर, साना शहरहरूमा खोलिएका पसलहरूमा सहकारीहरू छन् । जहाँ नेपालीहरूको आफ्नो धितो राख्ने जग्गाहरू छैन । त्यहि सहकारीमार्फत यो मुलुक । र, मुलुकका किसानको निक्षेप छ’, उनले भने ।

‘सहकारी मात्रै डुबेको छैन । ती निमुखा जनता डुबेका छन् । गृहमन्त्रीज्यू तपाईको राजीनामा मागेका छैनौँ’, अध्यक्ष गुरुङले भने, ‘तपाई गृहमन्त्री खानुस् । यदि पुष्पकमल दाहालले मान्नु हुन्छ भने प्रधानमन्त्री पनि खानुस् ।’

गुरुङले भने, ‘हाम्रो माग भनेको के हो भने मजदुर, किसान र साना व्यापारीहरूको सपनाहरू चुडिएको छ । आफ्ना छोराछोरीहरू पढाउन र विवाह गर्न जम्मा गरेको रकम ती ठगहरूले खाइदिएका छन् ।’

‘गृहमन्त्रीजी तपाईले भन्नुभयो, आकाशमा भए पनि, पातालमा भए पनि म जीबी राईलाई ल्याउनेछु । गृहमन्त्रीज्यू आकाशमा होइन पातालमा होइन । जीबी राई मलेसियामा छन् । गएर ल्याएर आउनुस्’, अध्यक्ष गुरुङले भनेका छन् ।

उनल भने, ‘गृहमन्त्रीज्यू तपाईलाई हाम्रो प्रश्न छ । यो मुलुकको सहकारीको ठग यदि जीबी राई हो भने तपाई १५ प्रतिशतको हिस्सेदार हो । तपाई पनि सहकारी ठग हो । तपाईले जीबी राईलाई कारबाही गर्ने कि नगर्ने ? तपाईलाई कारबाही गर्ने कि नगर्ने ? कांग्रेसले संसदीय छानविन समिति माग गरेको छ । त्यो छानविन समितिमा तपाईले छानविन गर्न सहयोग गर्ने कि नगर्ने ?’

अध्यक्ष गुरुङले गृहमन्त्री लामिछानेलाई आफूहरूले दोषी नभनेको बताउँदै सहकारी ठगीमा अनुसन्धान र छानविनमा सहयोग गर्न सुझाव दिए ।

यसैबीच, सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेविरुद्ध नेपाल तरुण दलले बुधबार काठमाडौंको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागेको छ ।

Published : Tuesday, 2024 May 14, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया