सहकारी ठगका आरोपी रास्वपाका सभापति लामिछानेसँग बरालको पङ्गा भएपछि सम्झौता रद्द, राजीनामा आयो

भरतपुर । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन् ।

बरालले लामिछानेको चितवन कार्यालयमा ९ महिनाअघि काम सुरु गरेका थिए । बरालले राजीनामा पत्रमा व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन् ।

लामिछानेले बराललाई चितवन छाडेर केन्द्रीय कार्यालय काठमाडौंमा काम गर्न निर्देशन दिएपछि राजीनामा दिएको बुझिएको छ ।

बरालले सुरुसुरुमा केही काम गरे जस्तो देखिए पनि पछिल्ला गतिविधिहरू ठीक नरहेको रास्वपाका एक नेताले बताए ।

पार्टी सभापति लामिछानेको चाहना र स्पिरिटअनुसार बरालले काम गर्न नसकेपछि सिधैं नहटार काठमाडौं कार्यालयको एक युनिटमा सरुवा गरिएको स्रोतको भनाइ छ ।

बरालले मासिक एक लाख ५० हजार रुपियाँ तलब लिने गरी काम सुरु गरेका थिए । गत वर्ष साउनमा विज्ञापन आह्वान गरेर लामिछानेले चितवन निर्वाचन क्षेत्र नं. २ मा निर्वाचन क्षेत्र कार्यालयमा सीईओ राखेका थिए ।

बराललाई १ वर्षका लागि भनेर नियुक्त गरिएको भए पनि ८ महिनामै सम्झौता रद्द गरिएको छ । सभापति लामिछानेले निर्वाचन क्षेत्रमा सञ्चालन गरेका ब्लू बस र ब्लू एम्वुलेन्स सेवा पनि बन्द हुने अवस्थामा पुगेका छन् ।

पुरानो मेडिकल कलेजसँगको समन्वयमा थालिएको स्वास्थ्य शिविर कार्यक्रम केही समयदेखि लगभग बन्दको अवस्थामा छ ।

Published : Monday, 2024 May 13, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया