उपनिर्वाचनमा कांग्रेसको मत किन घट्यो ? गम्भीर हुनुपर्नेछ : खड्का

बुटवल । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

बुधबार बुटवलमा नेपाल मुस्लिम संघ लुम्बिनीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘इलाममा पार्टीले यसअघिको आफ्नो मत जोगाएको छ, इलाममा बाम गठबन्धनविरुद्ध हामी लडेका हौँ, बझाङमा एक्लै लड्यौँ ।’

‘तर, हाम्रो मत घट्यो, हाम्रो मत स्थिर भयो, यसमा गम्भीर हुनुपर्ने छ, मतको संकेत बुझेर अबको रणनीति बनाउनुपर्ने छ, नयाँ मतलाई आकर्षित गर्ने गरी योजना बनाऔँ’, उनले भने ।

खड्काले पार्टी सञ्चालनका क्रममा भएका गम्भीर कमजोरी भएको भन्दै आफू सच्चिन तयार रहेको बताएका छन् ।

खड्काले कमजोरी स्वीकार्दै कांग्रेसलाई जोगाउनुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘पार्टीमा सुधार गर्न जरुरी छ । रूपान्तरण र पुनः निर्माण जरुरी छ, युवा सहभागिता देशले खोजिरहेको छ तर पार्टी कसरी सुध्रने त ? यसका लागि पार्टी नेतृत्व चलायमान बनाउनुपर्नेछ, जीवन्त बनाउनुपर्ने छ, पार्टीकै कमजोरी र त्रुटि भएरै होला गुनासा आएका ।’

उनले भने, ‘मैले र हामीले त्यो जिम्मेवारी पूरा गर्न सकेनौ, जनताको गुनासो कांग्रेससँग बढी भएको भरोसाका कारण हो, विश्वासका कारण हो भनेर बुझौँ ।’

कार्यक्रममा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नैनसिंह महर, रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण, रुपन्देही कांग्रेसका पूर्वसभापति अब्दुल रज्जाक लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2024 May 8, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया