लामिछानेमाथि छानबिन गर्नै नहुने हो ? सरकारको प्रस्तुति हेरेर कांग्रेसले रणनीति बनाउने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारीको रकम अपचलन र ठगी काण्डमा कांग्रेसको अडान यथावत रहेको बताका छन् ।

मंगलबार संसद भवन परिसर नयाँबानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नै नहुने हो ? भन्दै प्रश्न उठाएका छन् ।

लेखकले अरू सबै कुरामा छानबिन गर्न हुने र लामिछानेमाथि गर्न नहुने तर्क आफूहरूलाई मान्य नभएको बताए ।

सत्ता गठबन्धन सबैमाथि छानबिन गर्न तयार भएपनि लामिछानेमाथि छानबिन नगर्ने पक्षमा देखिएको भन्दै उनले कोही पनि संविधान र कानूनभन्दा माथि नरहेको बताएका छन् ।

उनले भने, ‘हामीले रकम अपचलन भएका सबै सहकारीमाथि छानबिन हुनुहुँदैन भनेका छैनौँ । त्यसको अनुसन्धान गरेर पीडितलाई न्याय दिने, पीडितको बचतको सुरक्षा गर्ने सरकारको दायित्व हो ।’

लेखकले भने, ‘त्यसबारे छानबिन गर्ने कुरा ठीक छ । गृहमन्त्री रवि लामिछानेका बारेमा प्रश्न उठ्ने, त्यसलाई सम्बोधन नगर्ने कुरा हुँदैन ।’

‘देशको उपप्रधानमन्त्री एउटा व्यक्ति मात्र हो ? उहाँमाथि प्रश्न उठ्दा छानबिन नगर्ने ? अरू सबै कुरामा गर्ने, त्यसमा नगर्ने ? यो देशमा कोही मानिस संविधान भन्दामाथि छ ?’, उनले भने ।

लेखकले भने, ‘यो रविजीका लागि पनि राम्रो हुन्छ । नभए सदनमा प्रश्न उठ्ने, मिडियामा प्रश्न उठ्ने, नागरिक समाजमा प्रश्न उठ्ने काम जारी रहन्छ । यो प्रश्नै प्रश्नको घेरामा पिल्सी राख्दा राम्रो देखिँदैन ।’

उनले संसद् अधिवेशनमा सरकारको प्रस्तुति हेरेर संसद् अवरोधबारे कांग्रेसले रणनीति बनाउने बताएका छन् ।

‘एक जना नेतामाथि प्रश्न उठ्दा छानबिन नै गर्न हुन्न । रवि लामिछाने कानून र संविधानभन्दा माथि छ भन्ने भाष्य सरकारले बनाउँदैन भन्नेमा हामी आशावादी छौँ’, उनले भने ।

Published : Tuesday, 2024 May 7, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया