कम्युनिस्टले मजदुरलाई घर बाँड्ने झुटा आश्वासन दिए, काठमाडौंमा उनीहरूकै बंगला छ : मोहन बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले मजदुर र जनतालाई अप्ठ्यारो परेको बेलामा साथ दिन नसक्ने व्यक्ति जनताको नेता हुनै नसक्ने बताएका छन् ।

बुधबार नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध सिन्धुपाल्चोकमा क्रियाशील संघ संस्थाहरूले आयोजनामा गरेको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले मजदुरहरूको बुद्धि र क्षमताले महत्वपूर्ण परिवर्तन भएको बताए । तर, मीठा र झुट्टा कुरा गर्नेहरूको विश्वासमा मजदुरहरू पर्दा उचित मान, सम्मानका साथै पारिश्रमिक पाउन नसकेको उनले बताए ।

‘मजदुरसंग पनि अत्यन्तै आवश्यक बुद्धि, विवेक र क्षमता हुन्छ’, बस्नेतले भने, ‘हिजो कम्युनिस्टका नामधारीहरूले मजदुरलाई घर बाँड्ने झुटा आश्वासन दिए, हिजो आर्थिक अवस्था कमजोर भएर जंगल पसेकाहरूको काठमाडौं बंगाला छ, मजदुरहरूको समस्या ज्यूँका त्यूँ छ ।’

उनले भने, ‘परेको बेलामा सहजै समाधान गर्न नसक्ने र मजदुरहरूलाई आश्वासन बाँडेर सधैं गरिब बनाइ राख्ने तिनीहरूलाई राम्रो चाहिने, मीठो चाहिने सुविधा सम्पन्न उनीहरू नै हुनुपर्ने ? व्यापारी र मजदुर सबैका लागि लडे, तर, मजदुरले लडेर ल्याएको व्यवस्थामा कम्युनिस्टका नेताहरूको रजाइँ छ ।’

नेता बस्नेतले मीठा कुरा गरेर फाइदा लुट्ने नेताहरूको प्रभावमा मजदुरहरू पर्दा बुद्धि, विवेक र क्षमता अनुसारको उपलब्धि र प्रतिफल प्राप्त गर्न नसकेको बताएका छन् ।

उनले सुविधाभोगी नेतनहरूले दलाली र माफियाहरूलाई प्रोत्साहन गर्ने र उनीहरूसंगै साझेदारी गर्ने भन्दै त्यस्ताबाट मजदुरको हकहित नहुने बताएका छन् ।

दलालसंग साझेदारीमा काम गर्ने नेताले जनताको काम नगर्ने भन्दै त्यस्ताहरूबाट मजदुरको उपलब्धिको काम नहुने उनले बताए ।

सिन्धुपाल्चोक कांग्रेसका उपसभापति दोर्जे लामा हाउडे, क्षेत्रीय सभापति एवम् बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दीक्षन शेर्पा, नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघका केन्द्रीय अध्यक्ष केदार कार्की, तातोपानी भन्सार कार्यालयका प्रतिनिधि तथा कृषि श्रमिक संघको केन्द्रीय अध्यक्ष विमला गैरेलगायतले मन्तव्य राखेका थिए ।

Published : Thursday, 2024 May 2, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया