गृहमन्त्री लामिछानेले प्रहरीभित्र आतंक मच्चाइरहेका बेला आइजीपी काठमाडौं ओर्लिए

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीभित्र सरुवा आतंक मच्चाइरहेका बेला आइजीपी बसन्तबहादुर कुँवर स्वदेश फर्किएका छन् ।
बुधबार त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुँवर अवतरण गरेका हुन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई कुँवर स्वदेश फर्किएका हुन् ।

हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा इन्टरपोल एनसीबी : अन्तर्राष्ट्रिय संगठित अपराधको खतराविरुद्ध संयुक्त मोर्चा लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो ।

सदस्य राष्ट्रहरूबीच १–२४÷७ मा पहुँच विस्तार गर्दै, थप आपराधिक डेटा साझेदारी गर्दै, आपराधिक प्रक्रियाहरू रोक्न, बालबालिकाको सुरक्षा र डेटा सुरक्षा बढाउँदै लगायतका एजेन्डामा छलफल तथा सहमति भएको थियो ।

राष्ट्रिय केन्द्रीय ब्यूरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता निर्माण एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गरेका थिए । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंह समेतको सहभागिता रहेको थियो ।

Published : Wednesday, 2024 May 1, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया