पाकिस्तानमा निकै बिग्रियो शान्ति सुरक्षा, न्यायाधीश अपहरण

लाहौर । पाकिस्तानको दक्षिण बजिरिस्तानमा जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई हतियारधारी समूहले अपहरण गरेका छन् ।

न्यायाधीश मारवात खैबर पख्तुनख्वाको ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्षेत्रनजिकै हतियारधारीहरूले अपहरण गरेको प्रहरीलाई उद्धृत गर्दै जियो न्यूजले जनाएको छ ।

डेरा इस्माइल खानको प्रहरी उपरीक्षक मोहम्मद अदनानले घटनाको पुष्टि गर्दै ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्षेत्रको बीचमा रहेको बग्वाल गाउँमा न्यायाधीश कार्यालयबाट डेरा इस्माइल खान फर्किंदै गर्दा उक्त घटना भएको बताए ।

अपहरणकारीले न्यायाधीशको कार र चालकलाई घटनास्थलबाटै छाडेका छन् । उनको अपहरणको कसैले जिम्मेबारी नलिएको प्रहरीले बताएको छ ।

दुर्भाग्यपूर्ण घटनाप्रति प्रतिक्रिया दिँदै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का केन्द्रीय सूचना सचिव फैसल करिम कुन्दीले चिन्ता र दुःख व्यक्त गरेका छन् ।

उनले खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गन्डापुरलाई प्रान्तमा शान्ति स्थापनाप्रति उहाँको ‘गैर–गम्भीरता’बारे स्पष्ट गर्न बोलाएका छन् ।

‘मुख्यमन्त्रीले शान्ति स्थापनाप्रति किन गम्भीर नभएको र आतङ्कवादी किन खुलेआम छन् भन्नेबारे बताउनुपर्छ’, उनले भने ।

उनले न्यायाधीशको अपहरणको खबरले जनतामा असुरक्षाको भावना सिर्जना भएको बताए ।

उक्त विषयमा खैबर पख्तुनख्वाका मुख्यमन्त्री गन्डापुरले अपहृत न्यायाधीशलाई सकुशल उद्धार गर्न निर्देशन दिएका थिए ।

उनले न्यायाधीश मारवातको उद्धारका लागि आपत्कालीन उपायहरू अपनाउनुपर्ने र उपलब्ध सबै स्रोतसाधन प्रयोग गर्नुपर्ने बताए । उनले अपहरणमा संलग्न तत्व न्यायबाट उम्किन नसक्ने प्रतिबद्धता जनाए ।

Published : Monday, 2024 April 29, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया