भ्रामक अडियो छानबिन गरी दोषीलाई कारबाही गर्न बार एसोसिएसनको माग

काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनले सिधाकुरा डटकममा प्रकाशित अडियो रिपोर्टबारे ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एसोसियसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले विज्ञप्ति जारी गरेर अडियोबारे तुरुन्त छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१÷०१÷१४ गते सिधाकुरा डट कमबाट प्रकाशित तथा प्रसारित अडियो सम्बन्धमा सही, सत्य तथ्य कुरा के हो ? त्यसमा तुरुन्त छानबिन गरी बास्तविक तथ्य बाहिर ल्याउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

‘छानबिनपछि दोषीमाथि तुरुन्तै कारबाही गर्न यो बार जोडदार माग गर्दछ’, बार एसोसिएसनले भनेको छ ।

सर्वोच्च बारले मुद्दाका विषयमा विभिन्न सामग्री प्रकाशन तथा प्रसारण गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेशागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना लगाउने कार्य जो कसैबाट भए पनि निन्दनीय भएको ठहर गरेको छ ।

स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायमाथि आँच आउने गरी कोही कसैबाट हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बारको चेतावनी छ ।

सिधाकुरा अनलाइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछाने निकट मानिन्छ । लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा समाचार आउन थालेपछि सिधाकुराले विषयलाई डाइभर्ट गर्न फेक सामाग्री बनाएर भ्रम फैलाएको आरोप छ ।

Published : Sunday, 2024 April 28, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया