पूर्वमन्त्री आलमलाई वीस वर्षको कदै फैसला

गौर । पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई रौतहट जिल्ला अदालतले जन्मकैद अर्थात् २० वर्षको सजाय सुनाएको छ ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको स्रेस्तेदार उद्धव ढोडारीले बताएका छन् । आलमसहित ४ जनालाई उच्च अदालत जाने बाटो पनि रहेको छ ।

१७ वर्ष अगाडि अर्थात् २०६४ चैत २७ मा राजपुरमा मानिसहरूको ज्यान जाने गरी बम बिस्फोटका घटना घटाएको अभियोग उनीहरूमाथि छ ।

प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् । जन्मकैद पाउनेमा आलम, आलमका भाइ मोहम्मत महताव आलम, शेख सराद र बद्री सहनी छन् ।

यो मुद्दामा प्रतिवादी बनाइएकामध्ये बाँकी ६ जनाको मुद्दा भने मुल्तवीमा राखिएको छ ।

महमद मोविन, शेश फजले हक शेश भदै शाहिर आलम गौरी शंकर साह शेश मलाकारको मुद्दा मुल्तवीमा राखिएको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस–४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप पूर्वमन्त्री आलमसहितका व्यक्तिमाथि छ ।

आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो ।

विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो । मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो ।

रौतहट बम काण्डमा रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतले आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए ।

रुक्सनाका २२ वर्षीय छोरा ओसी अख्तर र नारायणसिंहका २४ वर्षीय छोरा त्रिलोकप्रताप सिंह राजपुतलाई इँटाभट्टामा लगेर जलाएको अभियोग आलमसहितका व्यक्तिमाथि छ ।

Published : Thursday, 2024 April 25, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया