एमालेसँग मिलेर सरकार बन्ने भन्ने विषयबारे छलफल भएको छैन : डा.महत

इटहरी । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयबारे पछिल्लो समय छलफल नभएको बताएका छन् ।

सोमबार इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले भने, ‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ, कसैले एमालेसँग मिलौँ पनि भन्नुभएको छ । सबैको विचारहरू आइरहेका छन् ।’

‘कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउनेगरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ’, उनले भने, ‘हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौँ । अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैँ छोटिदैँछ ।’

उनले वर्तमान गठबन्धनमा रहेका दलहरूबीच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको बताएका छन् ।

अस्थिरताका कारण अन्तर्राष्ट्रियस्तरमै सरकारप्रति अविश्वास बढेको बताउँदै डा.महतले आर्थिक क्षेत्र समेत चलायमान हुन नसकेको बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका डा.महतले आफू अर्थमन्त्री हुँदा बाह्य सूचक र आर्थिक लयले सकारात्मक प्रभाव पारेको भएपनि पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।

डा.महतले कांग्रेसले गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेको सहकारी ठगी विषयमा संसदीय छानबिन गर्न अडान राखिराखेको बताए ।

‘सहकारी ठगीबाट बचतकर्ता मारमा परेको र स्वयम् गृहमन्त्री सुरक्षा निकायको प्रमुख भएका कारण गैरकानूनीको विषय छर्लङ्गै भइसकेको छ’, उनले भने ।

‘जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, उहाँलाई नै छानबिन गर्ने कुरा नभएका कारण संसदीय छानबिन बनाउनुपर्छ भन्ने हाम्रो माग हो’, डा.महतले भने, ‘हामीले आधार र तथ्यमा टेकेर यो कुराको उठान गरेका हौँ, जनतामाझ स्पष्ट छ ।’

Published : Monday, 2024 April 22, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया