माओवादीले धोका दिएपछि लुम्बिनीमा जसपाले दवाव बढायो

देउखुरी । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पूर्वसहमतिअनुसार दुई मन्त्रालय नपाएपछि लुम्बिनी प्रदेश सरकार छाडेको छ ।

आइतबार कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । ३ जना सदस्य रहेको जसपालाई माओवादी केन्द्रका नेता समेत रहेका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मतका क्रममा २ मन्त्रालय दिने सहमति गरेका थिए ।

सहमतिअनुसार मुख्यमन्त्री महराले १ मन्त्रालय मात्रै दिएपछि असन्तुष्ट बनेको जसपाले मन्त्री अहिरलाई राजीनामा गराएको छ ।

जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । जसपाले सर्मथन फिर्ता लिए पनि महरा नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा पर्नेछैन । सरकार टिकाउन ४४ मत चाहिन्छ । जसपा बाहिरिँदा पनि महरासँग ४५ जनाको समर्थन यथावत रहन्छ ।

चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । लुम्बिनी प्रदेश सभामा ८७ सदस्यीय छन् । मुख्यमन्त्री महराले चैत ३० गते विश्वासको मत लिँदा ४८ मत पाएका थिए ।

तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार ढाल्न पनि जसपाका अहिरले मन्त्री पदबाट राजीनामा दिएका थिए । अहिरलाई महराले चैत २५ गते मन्त्री नियुक्त गरेका थिए ।

महराको पक्षमा माओवादीका १० सांसद, एमालेका २९, जसपाका ३, नेकपा (एकीकृत समाजवादी) १ र स्वतन्त्र सांसद खड्क बस्नेतसहित ४४ जना सांसदले हस्ताक्षर गरेका थिए ।

आन्तरिक किचलोबीच ४ जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले पनि महरालाई समर्थन गरेको छ । महराको पक्षमा ४८ सांसद देखिएका छन् । लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ ।

जसपालाई महराले शहरीमा पर्यटन थपेर शहरी विकास तथा पर्यटन मन्त्रालय दिने भनिएको थियो । महराले धोका दिएपछि जसपाले मन्त्री अहिरलाई राजीनामा गर्न लगाएर दवाव सिर्जना गरेको छ ।

मुख्यमन्त्री महरासँग जसपा र नागरिक उन्मुक्तिले २÷२ मन्त्रालय मागेका छन् । सरकार टिकाउन पनि महराले पूर्वसर्तअनुसार मन्त्रालय दिनुपर्छ । त्यसका लागि मुख्यमन्त्री महराले मन्त्रालय विभाजन गरेर जसपा र नागरिक उन्मुक्ति पार्टीलाई माग गरेअनुसारको मन्त्रालय दिने तयारी गरेका छन् ।

पूर्वसहमतिअनुसार दुईवटा मन्त्रालय पाएपछि सरकारमा फर्किन अहिरले बताएका छन् । जसपाले अहिर र अम्बिका काफ्लेलाई मन्त्री बनाउने यसअघि निर्णय गरेको थियो । दुई मन्त्रालय पाएमा जसपाले अहिर र काफ्लेलाई पठाउनेछ ।

लिखित सहमति कार्यान्वयन नभएकाले जसपा अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा सरकार छाडेको अहिरले बताएका छन् ।

Published : Sunday, 2024 April 21, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया