इलाम २५ वर्षपछि परिवर्तन हुन चाहन्छ, नेतृत्व कांग्रेसले गर्छ : विश्वप्रकाश शर्मा

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम २ को उपनिर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

शनिबार इलाममा कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै सबै राजनीतिक दलले निर्वाचनको परिणामपछि इलामको विकासका लागि एक हुने संकल्प गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘इलामको मुहार फेर्ने मुद्दामा बहस गरौँ । केही भएन भन्नुभन्दा विगतमा भएको काम किन ढिला भयो भन्ने प्रश्न गरौँ ।’

‘विगतमा इलामका लागि के ग¥यौँ, देशका लागि के ग¥र्यौँ भनेर कुरा राखौँ’, शर्माले भने, ‘भएन, बिग्रियो, सकियो भनेर मात्र निरासाजनक कुरा नगरौँ ।’

उनले भने, ‘कामहरू भइरहेको छ । तर, किन ढिला भइरहेको छभन्नेमा प्रश्न गरौँ । आफ्नो पार्टीलाई भोट माग्दा तथ्यमा टेकेर मत मागौँ । केही भएको छैन भन्ने कुरा तथ्यमा आधारित होइन ।’

महामन्त्री शर्माले इलामको निर्वाचनमा परिवर्तन, पहिचान र प्रगतिको मुद्दा लिएर अघि बढ्ने बताएका छन् ।

‘इलामले सधैँ एउटै स्वाद लियो । अब इलाम परिवर्तन चाहन्छ । परिवर्तनको नेतृत्व कांग्रेसले गर्छ’, उनले भने, ‘विगतमा २५ वर्ष एउटैले नेतृत्व गर्नुभयो ।’ शर्माले भने, ‘अब इलामले नयाँ काम खोजेको छ ।’

हिजो राजनीति परिवर्तन भयो अब राजनीतिमा परिवर्तन गर्नुपर्ने महामन्त्री शर्माले बताएका छन् ।

शर्माले बहुदलपछि कांग्रेसको नेतृत्वमा देशले विकास निर्माणमा फड्को मारेको बताएका छन् ।

इलाममा स्वास्थ्य, शिक्षाको क्षेत्रमा पनि बहुदलअघि भन्दा बहुदलपछि विकास भएको उनले बताएका छन् ।

विगतका घटनाले निर्वाचनमा हुने गठबन्धन गलत भन्ने पुष्टि भइसकेकाले नै कांग्रेस एक्लै निर्वाचनमा खडा भएको महामन्त्री शर्माले बताए ।

विगतको निर्वाचनमा पनि इलाममा माओवादी कार्यकर्ताले मत दिएको उल्लेख गर्दै महामन्त्री शर्माले इलाम–२ मा माओवादीको उम्मेदवार नभएकाले यसपटक पनि कांग्रेसलाई नै मत दिन आग्रह गरेका छन् ।

वैशाख १५ गते इलाम २ मा हुने उपवनिर्वाचनलाई लक्षित गरेर कांग्रेसले चुनावी प्रचार प्रसार गर्दै आएको छ । कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदावर बनाएका छन् ।

Published : Saturday, 2024 April 20, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया