जीबी राईको हत्या हुन सक्ने तरुण दलको आशङ्का, गुरुङद्वारा नटवरलालबाट सचेत रहन अपील

इलाम । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काको प्रचार प्रसारका विषयमा जानकारी लिएका छन् ।

शनिबार इलाममा नेपाल तरुण दल इलामका अध्यक्ष नरेश श्रेष्ठले कांग्रेसको अवस्था र तरुणहरूको तर्फबाट भइरहेका प्रचार प्रसारका विषयमा अध्यक्ष गुरुङलाई बिफ्रिङ गरेका छन् । गुरुङले इलामका तरुणहरूलाई रणनैतिक रुपमा जनतासँग प्रत्यक्ष सम्पर्कमा पुगेर कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न अनुरोध गर्न निर्देशन दिएका छन् ।

इलाम तरुण दलका अध्यक्ष श्रेष्ठले ४२ वटा वडामा चुनावी प्रचार प्रसारमा खटिएका तरुण संयोजकहरूले कांग्रेसका उम्मेदवारको पक्षमा के कस्तो छ भनेर जानकारी गराएका छन् । स्थानीय तरुण नेताहरूले अहिलेसम्म कांग्रेसका उम्मेदवारको पक्षमा नतिजा आउनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् । तर, केही ‘नटवरलाल’हरू इलाममा आएर जनतालाई भ्रममा पार्ने प्रयासहरू गरिरहेको भन्दै ती भ्रमलाई चिर्नुपर्ने चुनौती रहेको तरुणहरूले बताएका छन् ।

अध्यक्ष गुरुङलाई चुनावी परिणाम नेपाली कांग्रेसको उम्मेदवार डम्बर खड्काको हकमा राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको बताए । गुरुङले इलाम २ को उपनिर्वाचनसँग नेपाली कांग्रेसको इज्जत, मान, प्रतिष्ठा र जनताको भरोसा जोडिएको बताएका छन् । उनले इलाम २ को निर्वाचन गुमाउने अधिकार र छुट कांग्रेसलाई नरहेको बताएका छन् ।

अध्यक्ष गुरुङले यदि नेपाली कांग्रेसकै मत बाँडिने सम्भावना रह्यो भने तरुणहरूले रोक्नुपर्ने बताएका छन् ।

कांग्रेस बाहेक अरु कुनै पनि पार्टीले इलामको विकाशलाई निश्चित विन्दुमा पुर्‍याउन नसक्ने अध्यक्ष गुरुङले बताएका छन् । उनले डम्बर खड्का नै इलामको विकाशका लागि उपयुक्त व्यक्ति भएको बताएका छन् ।

सहकारी ठगीको फाइल बन्द गराउन जीबी राईको हत्या हुन सक्नेमा आफूलाई शङ्का लागेको तरुण अध्यक्ष गुरुङले बताएका छन् ।

उनले पार्टीभित्र अन्तर्घात हुने अवस्था देखिए त्यस्तो व्यक्तिलाई बोरामा हालेर वारीबाट कान्लामा पुग्ने गरि फाल्दिए हुन्छ भनेर निर्देशन पनि दिएका छन् । अन्तर्घात गर्ने नेतालाई कारबाही हुँदा त्यसको जिम्मेवारी आफू लिन तयार रहेको गुरुङले बताएका छन् ।

इलाममा कांग्रेसको जीत सुनिस्चित गराउन तरुणहरूको भूमिका प्रभावकारी हुने उनले बताए । इलाम २ को निर्वाचन जिताउने चुनौती तरुणहरूको रहेको बताए ।

अध्यक्ष गुरुङले विदेशमा बसेर आएको व्यक्तिलाई बाबुको सम्पत्तिमा हक लाग्न सक्ने भए पनि राजनीतिक विरासतको रुपमा जनताले अनुमोदन नगर्ने कुरा आगामी चुनावको मत परिणामबाट इलामका जनताले कांग्रेसको रुख छापमा मत हालेर देखाइदिने बताए ।

उनले तरुणहरूलाई मतदातासँग नम्र भएर बुढापाकाहरूसँग मीठो बोलिले युवाहरूसँग रणनीति अपनाउँदै चुनावी मैदानमा खटिन निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक गोपाल तामाङ, कोशी प्रदेश सभाका सदस्य खगेनसिंह हाङामले कांग्रेसका उम्मेदवारलाई जिताउन सबै प्रयास गर्नुपर्ने बताए ।

नेपाल तरुण दल केन्द्रीय सदस्य निरज निरौलाले इलाममा डम्बर खड्काको विकल्प नभएको बताए ।

Published : Saturday, 2024 April 20, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया