गृहमन्त्रीले एमालेका ठूलो माछालाई उन्मुक्ति दिए, ओलीको दवावमा महिलाले एसएसपीबाट न्याय पाइनन्

काठमाडौं । भ्रुण हत्या, जबरजस्ती करणी र डाँका चोरी समेतको कसूरमा जाहेरी परेका एमालेका नेता महेश बस्नेतविरुद्धको मुद्दालाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) भुपेन्द्र खत्रीले तामेलीमा राखिर उन्मुक्ति दिएका छन् ।

सर्वसाधारणलाई भ्रण हत्या, जबरजस्ती करणी र डाँका चोरी समेतको मुद्दा लागेको जाहेरी प्रहरीमा परेको हुन्थ्यो भने तत्काल पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढ्ने थियो । तर, एसएसपी खत्रीले पूर्वमन्त्री समेत रहेका एमालेका नेता बस्नेतलाई उन्मुक्ति दिन बयान समेत नलिएर मुद्दा तामेलीमा राखिदिएका छन् ।

एमालेका नेता बस्नेतलाई एसएसपी खत्रीले किन उन्मुक्ति दिए ठूलो प्रश्न उठेको छ । शुरुमा एसएसपी खत्रीले पीडित महिलाको जाहेरी नै लिन मानेनन् । बाध्य भएर ती महिलाले हुलाकमार्फत जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा जाहेरी दिनु परेको थियो । जाहेरी आएपछि एसएसपी खत्रीले आरोपित एमालेका नेता बस्नेतलाई सोधपुछ समेत नगरेको आरोप पीडित महिलाले लगाएकी छिन् ।

एसएसपी खत्रीले वैशाख ४ गतेको निर्णयसहित मुद्दा तामेलीमा राखेको जानकारी पीडित महिलालाई गराएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले समेत एमालेका नेता बस्नेतलाई मुद्दा चलाउने हिम्मत गरेको छैन । सरकारी वलिक पनि एमालेका नेता बस्नेतलाई बचाउन लागेको आरोप पीडित महिलाले लगाएकी छिन् ।

आरोप लगाउँदै जाहेरी दिने पीडित महिला पनि एमालेकै नेतृ हुन् । ती महिलाले कहिले न्याय पाउने हुन् प्रश्न उठेको छ । हुन त बेलाबेला विवादमा आइरहने एमालेका नेता बस्नेतले सांसद अपहरणको आरोप खेप्नु परेको थियो । पूर्वआइजीपी सर्वेन्द्र खनालसँग मिलेर बस्नेतले तराईको जिल्लाबाट सांसदलाई अपरहण गरेर काठमाडौं ल्याएको आरोप छ ।

एमालेका नेता बस्नेतविरुद्ध धेरै चर्चित किस्साहरू छन् । एमालेका अध्यक्ष केपी ओलीसँग निकट मानिने बस्नेतलाई ओलीकै दवावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेले उन्मुक्ति दिन पीडितको जाहेरीलाई तामेलीमा राखेर न्यायलाई दवाइएको आरोप छ ।

गृहमन्त्री लामिछानेले न्याय, सुशासन र जनताका कुरा गरेर थाक्दैनन् । तर, काठमाडौं प्रहरीका एसएसपी खत्रीले पीडित महिलालाई न्याय नदिएर एमालेका नेता आरोपित बस्नेतलाई उन्मुक्ति दिएपछि गृहमन्त्री लामिछानेको औकात र हैसियतमा प्रश्न उठेको छ ।

एमालेका नेता बस्नेतविरुद्धको जाहेरी दर्ता गर्न एसएसपी खत्रीले अटेर गरेपछि पीडित महिलाले गृहमन्त्री लामिछानेको सचिवालयलाई गुहार माग गरेकी थिइन् । गृहमन्त्री लामिछानेका सचिवालयका सदस्य दीपक बोहराले पटक पटक फोन गरेर काठमाडौं प्रहरीलाई जाहेरी दर्ता गर्न आदेश पनि दिएका थिए । तर, प्रहरीले जाहेरीलाई तामेलीमा राखेपछि महिला जिल परेकी छिन् ।

ठूला माछालाई पक्राउ गरेर कारबाही गर्ने भन्दै आएका गृहमन्त्री लामिछाने पछिल्लो समय असफल भइरहेका संकेतहरू देखिएका छन् । कसैलाई पक्राउ गर्ने, कसैलाई पक्राउ गरेर छाड्ने, कसैलाई करुण देखाउने आदि कार्य गरेको भनेर लामिछानेमाथि प्रश्न उठ्दै आएको छ ।

Published : Saturday, 2024 April 20, 7:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया