एमाले-माओवादीले गरेका गैरकानूनी क्रियाकलापको कांग्रेसद्वारा भर्त्सना, प्रदेश प्रमुखहरूलाई औकातमा बस्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय, क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको जनाएका छन् ।

शुक्रबार ललितपुरको वीपीनगरस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर पूर्वअर्थमन्त्री समेत रहेका डा.महतले भने, ‘प्रदेश प्रमुखहरूबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैयाप्रति नेपाली कांग्रेस घोर आपत्ति प्रकट गर्दछ ।’

‘गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले संविधान र सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेका छन्’, डा.महतले भने ।

उनले भने, ‘२०८० चैत २५ गते प्रदेश सरकारमा भएको नियुक्ति गैरकानूनी एवम् त्रुटिपूर्ण भनी सर्वोच्च अदालतमा दायर भएको रिटमा यसको टुङ्गो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका कुनै पनि निर्णय नगर्नु÷नगराउनु भनी सम्मानित सर्वोच्च अदालतले चैत २८ गते आदेश गरेको थियो ।’

‘रिटको पूर्ण सुनुवाई २०८१ वैशाख १० मा तोकिसकिएको अवस्थामा प्रदेश सभा बैठक आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकार दुबैबाट अदालतको अवहेलना गर्ने काम भएको छ’, उनले भने ।

‘सर्वोच्च अदालतमा विचारधीन मुद्दाको अवज्ञा गर्दै प्रदेश सभाको अधिवेशन बोलाइनु गैरकानूनी एवम् सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत छ’, प्रवक्ता डा.महतले भने ।

‘यसरी गैर संवैधानिक ढंगमा बोलाइएको बैठकमा नेपाली कांग्रेस प्रतिपक्षको हैसियतमा उपस्थित हुन नसक्ने प्रष्ट गर्न चाहन्छ’, डा.महतले भनेका छन् ।

‘सरकारको नियुक्तिकै क्रममा पार्टी सदस्यबाट राजीनामा गरिसकेको तथा तटस्थ भूमिका निर्वाह गर्नुपर्ने सभामुख समेतको हस्ताक्षरलाई मान्यता दिएर मुख्य मन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय यसअघि कोशी प्रदेश सरकार गठनका क्रममा सर्वोच्च अदालतबाट भएको फैसला विपरीत रहेको प्रष्टै छ’, उनले भने ।

‘यसप्रति कांग्रेसले आफ्नो असहमति यस अघि नै व्यक्त गरेर यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको अवस्था हो’, डा.महतले भने ।

‘यसैगरी सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८(२) बमोजिम संविधानसम्मत् गरिएको दावीलाई खारेज गरी प्रदेश प्रमुखबाट वदनियतपूर्ण ढंगमा फेरि सरकार आह्वान गर्नु असंवैधानिक कदम हो’, उनले भने ।

‘संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार प्रयोग गर्ने छुट दिएको छैन, न त प्रदेश प्रमुखले कुनै पार्टी विशेषको निर्देशनमा काम गर्ने अधिकारको कल्पना गरिएको छ’, डा.महतले भने ।

‘मुख्यमन्त्रीका लागि प्रस्तावित सांसदका विषयमा समर्थन र समर्थन फिर्ताको जुन प्रपञ्च रचिएको छ, यसले संसदीय पद्धति र संघीय व्यवस्थाप्रति एकखालको निराशा उत्पन्न गरेको छ’, उनले भने, ‘संवैधानिक सीमामा रहनु पर्ने प्रदेश प्रमुखको राजनीति प्रेरित यो रवैयाप्रति घोर आपत्ति जनाउँदै यस्ता गैर संवैधानिक क्रियाकलापलाई राजनैतिक र कानूनी रुपमा नेपाली कांग्रेस विरोध गर्दछ ।’

एमाले, माओवादी केन्द्रको नयाँ गठबन्धनले धमाधम संविधान र विधिको शासनविरुद्ध प्रदेश सरकारहरू बनाउन थालेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले एमाले–माओवादीका गलत हर्कत र संविधान विपरीतका कार्यको जबरजस्त रुपमा विरोध गरेको छ ।

Published : Friday, 2024 April 19, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया