गण्डकीमा एमालेकाे असंवैधानिक कदमविरुद्ध कांग्रेसले दियो द्वन्द्वको चेतावनी, अधिकारीद्वारा आदेश उल्लंघन
काठमाडौं । नेपाली कांग्रेसले असंवैधानिक काम नगर्न गण्डकी प्रदेशको कम्युनिस्ट सरकारलाई सचेत गराएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेले बुधबार विज्ञप्तिमार्फत भनेका छन्, ‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो ।’
गण्डकी प्रदेश सभाको बैठक आह्वान गरिएकोमा गम्भीर असहमति जनाउँदै पाण्डेले यसबाट प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना हुने चेतावनी दिएका छन् । प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना भएमा त्यसको जिम्मेवार सम्बन्धित पक्ष हुने बताएका छन् ।
‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको वेवास्ता गर्दै गरिएका यस्ता असंवैधानिक क्रियाकलापहरूप्रति गम्भीर असहमति जनाउँदै यसबाट प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्षहरू हुने समेत स्पष्ट पार्दर्छौं’, पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री खगराज अधिकारीले संसद बैठक आह्वान गरेर विश्वासको मत लिन खोजेका छन् ।
मुख्यमन्त्री अधिकारीले वैशाख ७ गतेका लागि संसद बैठक आह्वान गरेका छन् । एमालेका नेता समेत रहेका अधिकारीले वैशाख १० गते विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सर्वोच्च अदालतले एमालेका नेता अधिकारी नेतृत्वको कामचलाउ सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिइसकेको छ । रिटसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेका बेला अधिकारीले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाएका छन् ।
अदालतले मुद्दा किनारा नलाग्दासम्म सरकारका नियमित कार्य सञ्चालनबाहेक कुनै पनि दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको छ । मुद्दामा वैशाख १० गते सोमबारका लागि पेशी तोकिएको छ ।
अदालतको आदेशलाई बेवास्ता गर्दै कामचलाउ मुख्यमन्त्री अधिकारी अगाडि बढेपछि गण्डकी कांग्रेस रुष्ट बनेको छ । कांग्रेस नेता पाण्डेले मुख्यमन्त्री आफूखुसी अघि बढ्न खोजे संसदमा द्वन्द्व निम्तिन सक्ने र त्यसको जिम्मेवार सरकार नै हुने बताएका छन् ।
यसैबीच, गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार बिहान बालुवाटारमा भेट गरेका छन् ।
अधिकारीले दाहालसँग भेट गरेर विश्वासको मत लिन लागेको र गण्डकी प्रदेश सभाको बैठक आह्वान गरिएको भन्दै सहयोग गर्न अनुरोध गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया