लामिछानेले रकम लिएको प्रमाणीकरण गर्दा पनि प्रतिवादी नबनाइनु कानूनकाे उपहास : सभापति खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरीले प्रमाणीकरण गर्दा पनि प्रतिवादी नबनाइनु कानून उपहास भएको बताएका छन् ।
मंगलबार ट्वीट गर्दै खतिवडाले कानून भनेको सरकारमा बस्नेका लागि नलाग्ने हो ? भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन् ।
खतिवडाले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीज्यू गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको अनुसन्धानबाट प्रमाणीकरण हुन अब के बाँकी छ ?’
‘उनलाई प्रतिवादी नबनाइनुको कारण के हो ?’, सभापति खतिवडाले प्रश्न गर्दै भने, ‘यो कानूनी राज्यको उपहास हो कि होइन ?’
उनले भने, ‘सरकारले कुन प्रकारका नागरिकलाई उन्मुक्ति दिने गरेको छ ! अब सरकारमा बस्ने बाहेकलाई मुद्दा हो ?’
लामिछानेविरुद्ध प्रहरीले नै गरेको अनुसन्धानमा दोषी रहेको प्रतिवेदन बनाएर बुझाएको छ । लामिछानेविरुद्धका यथेष्ट प्रमाणहरू सञ्चारमाध्यममा छताछुल्ल भएका छन् । तैपनि लामिछानेलाई कारबाही भएको छैन । सहकारीको रकम ठगीमा दायर भएको मुद्दामा प्रतिवादी बनाइएको छैन ।
गृहमन्त्री लामिछानेलाई सहकारीको रकम ठगीमा बचाउन प्रधानमन्त्री दाहाल, एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले ठूलो जालझेल गरेका बेला राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले कानूनी शासनप्रति गम्भीर प्रश्न उठाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया