गोरखा कांग्रेसका पूर्वउपसभापति न्यौपानेको निधन

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाका पूर्व उपसभापति एवं जिल्ला विकास समितिका पूर्व सभापति चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ ।

न्यौपानेको सोमबार बिहान अर्थात् वैशाख ३ गते करीब सवा ८ बजे निधन भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

न्यौपाने विक्रम संवत् २०४९ मा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका थिए ।

विक्रम संवत् २०६४ को संविधान सभाको निर्वाचनमा उनी गोरखा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार रहेका थिए ।

न्यौपाने पटक–पटक नेपाली कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि रहँदै आएका थिए । विक्रम संवत् १९९९ वैशाख १३ गते जन्मिएका न्यौपाने गोरखाको सिरानचोक ४ निवासी हुन् ।

न्यौपानेले प्रजातन्त्र स्थापना र पुनर्स्थापनाका क्रममा पटक–पटक हिरासत र जेल जीवन समेत बिताएका थिए ।

विक्रम संवत् २०१७ सालमा प्रजातन्त्रको अपदस्थ गरिएदेखि नेपाली कांग्रेसद्वारा संंचालित हरेक आन्दोलन र संघर्षहरुमा निरन्तर सक्रिय रहँदै आएका न्यौपानेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।

न्यौपानेको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । न्यौपानेले पार्टीका विभिन्न पदमा रहेर पार्टी संगठन र लोकतन्त्रको पक्षमा निर्वाह गरेको सक्रिय भूमिकाको स्मरण गर्दै सभापति देउवाले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

Published : Monday, 2024 April 15, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया