ओलीजीले ९ महिना र ५७ दिन किन भुल्नुभयो ? कांग्रेसको २ दिनले सरकार भाग्यो : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारीको करोडौं रकम ठगी भएको विषयमा संसदीय छानविन समिति बनाऔँ भन्दा सरकार सदन भागेको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग नयाँ बानेश्वर संसद भवनमा कुरा गर्दै खतिवडाले कांग्रेसले २ दिन सदन अबरुद्ध गर्दा सरकार डराएर भागेको बताए । उनले एमालेले विगतमा ९ महिना र ५७ दिनसम्म संसद अबरुद्ध गरेको कुरा एमालेका अध्यक्ष केपी ओलीले किन यति छिटो भुलेको भनेर आश्चर्य व्यक्त गरेका छन् ।

उनले भने, ‘सरकार भाग्न खोज्यो सदनबाट । जहिले पनि कम्युनिस्ट पार्टीहरु सरकारमा हुँदा संसदलाई छलेर बाहिर भाग्ने परिपाटीको विकास भएको छ । यो संसदन नै सरकारको मुहान हो भन्ने कुरालाई बिर्सियो ।’

‘संसद नभइकन सरकार निर्माण हुँदैन । संसदलाई बाइपास गरेर हुने निर्णय हामीलाई अमान्य हुनेछन्’, उनले भने, ‘त्यसैले हामीले घोर आपत्तिजनक रुपमा यसलाई लिएका छौँ । सदन यति सजिलरी चलिरहेको थियो । विधेयक ल्याउने सरकारले विधेयक पारित गर्ने, लैजाने गर्ने भइहाल्थ्यो नि ?’
सभापति खतिवडाले भने, ‘एकातिर लगानी सम्मेलन गर्छु भन्ने, लगानी सम्मेलनमा अध्यादेशबाट नियम ल्याउने यो घोर आपत्तिजनक कुरा छ । हामी यसको छिनोफानो सदन मै बसेर फेरि गर्ने छौँ ।’
‘ओलीजीलाई यति छिटो बिर्सने रोग लाग्यो भन्ने त मलाई लागेको थिएन । उहाँले सम्झिनु हुन्छ भन्ने लागेको थियो’, खतिवडाले भने ।

‘यो देशमा ९ महिना संसद अबरोध गर्ने, ५७ दिन संसद अबरुद्ध गर्ने, नागरिकता विधेयक आयो संसद अबरुद्ध गर्ने, जलहरी आयो संसद अबरुद्ध गर्ने, सुन केश आयो संसद अबरुद्ध गर्ने काम हामीले गरेनौँ’, उनले भने ।

‘हामीले त लाखौं सहकारीकर्ताहरु ठगिए, अरबौं पैसा ठगी भयो, यसका बारेमा एउटा छानविन समिति गरौँन भन्दा, दुई दिन हामीले गरेका हौँ’, सभापति खतिवडाले भने ।

‘दुई दिन जम्मा । हामी यो संसदलाई चलाएर सबै विधेयकहरु पारित गरेर जाने पक्षमा थियौं’, खतिवडाले भने, ‘दुई दिन गर्दा पनि सरकारको सातोपुत्लो गयो । सरकार संसदबाट भागेर हिँड्ने अवस्था सिर्जना भयो ।’

Published : Sunday, 2024 April 14, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया