सहकारी ठगी काण्डमा गृहमन्त्री लामिछानेका पूर्व पार्टनरसहित २८ जनाविरुद्ध प्रतिवेदन

काठमाडौं । प्रहरीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था प्रालिको रकम ठगी प्रकरणमा गितेन्द्रबाबु राई (जीबी)सहित २८ जनालाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन बुझाएको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । राई गृहमन्त्री रवि लामिछानेका पूर्व पार्टनर हुन् । राई फरार छन् । राईलाई पक्राउ गर्न रेड नोटिस जारी भए पनि गृहमन्त्री लामिछानेले पक्राउ गर्न चासो नदिएको आरोप छ ।

१ अर्ब २ करोड हिनामिना भएको पाइएपछि सोही अनुसारको बिगो मागदाबी गर्नुपर्ने रायसहित फाइल बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले बताएका छन् ।

प्रतिवेदनमा जीबी (गितेन्द्रबाबु) राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीले उल्लेख गरेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दीपेश पुन, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापा मगर, रोशनी गुरुङ, सागर केसीसहित २८ जनालाई प्रतिवादी बनाइएको छ । सहकारीले ठगी गरेको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।

नेपाली कांग्रेसले सहकारीको रकम ठगी गरेको अभियोग लागेका गृहमन्त्री लामिछाने र सहकारीपीडितलाई न्याय दिन संसदीय छानविन समितिको माग गर्दै आएको छ । सरकारले कांग्रेसको मागलाई टेरपुच्छर लगाएको छैन ।

Published : Sunday, 2024 April 14, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया