कांग्रेस नेता पौडेलको फेवा अस्पतालमा निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्की कांग्रेसका पूर्व सभापति नेता ८१ वर्षीय खेमराज पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले शुक्रबार शोक वक्तव्य जारी गरेर पौडेलको निधनप्रति चिन्ता जनाएका हुन् । पौडेलको निधन शुक्रबार बिहान करीब ११ बजे पोखराको फेवासिटी अस्पतालमा उपचारका क्रममा भएको थियो ।

लामो समय कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका पौडेल २०७६ मंसिर १४ गते सम्पन्न भएको कास्की जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका थिए ।

विद्यार्थी जीवनकालदेखि नै राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय पौडेलले लोकतन्त्रको पक्षमा आवाज वुलन्द गर्दा भारत प्रवास समेत व्यहोर्नु परेको थियो ।

नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापनाको आन्दोलनहरुमा उनले सक्रिय भूमिका निर्वाह गरेको देउवाले जनाएका छन् ।

पौडेलको निधनबाट नेपाली कांग्रेस एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ । उनकी श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

देउवाले भने, ‘नेपाली कांग्रेस कास्कीका निष्ठावान नेता खेमराज पौडेलको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ ।’

‘स्वर्गीय पौडेलले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ’, देउवाले भने ।

‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जजि अर्पण गर्दछु । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु’, सभापति देउवाले भने ।

Published : Saturday, 2024 April 13, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया