कांग्रेसको लचकतालाई बर्तौला र शर्माले कमजोरी ठाने, दिन थाले अहँकारपूर्ण अभिव्यक्ति

काठमाडौं । सहकारीको करीव १ अर्ब रकम अपचलन र ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै आएका एमालेका प्रमुख सचेतक महेश बर्तौला र सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले नेपाली कांग्रेसप्रति निकै तल्लोस्तरको आक्षेप लगाएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुरा गर्दै बर्तौलाले प्रमुख विपक्षी दल कांग्रेसलाई विभिन्न लाञ्छनाहरू लगाएर तल्लोस्तरको आक्षेप लगाएका हुन् । कांग्रेसको लचकता र सदाशयतालाई उनीहरूले कमजोरीका रुपमा लिएको संकेत गरेका छन् ।

एमालेका प्रमुख सचेतक बर्तौलाले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानविन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानविन गर्नुपर्ने बताए ।

उनले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानविन भएन भनेर प्रश्न गरेका छन् ।

बर्तौलाले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए । उनले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको समेत बताए ।

सरकारी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेबिरुद्ध प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले आरोप लगाइरहेको बताएकी छिन् ।

बुधवार प्रेस सेन्टर झापाले गरेको कार्यक्रममा उनले ठाडो निवेदन दिएकै भरमा गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताइन् ।

उनले कांग्रेसले सुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रस्तुत भएको तर, अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको बताइन् ।

शर्माले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्ने कुरामा सरकार सकारात्मक रहेको बताइन् ।

नेपाली कांग्रेसले लोकतान्त्रिक संस्कारअनुसार लचकताका साथ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत भएर सालिन रुपमा आफ्ना माग राख्दै आएको छ ।

सहकारीको रकम ठगी भएको तथा अपचलन गर्ने गृहमन्त्री लामिछानेमाथि छानविन गर्न कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ ।

कांग्रेसको यो लाकचता र लोकतान्त्रिक संस्कारलाई एमालेका प्रमुख सचेतक बर्तौला र सञ्चारमन्त्री शर्माले कमजोरी ठानेर उल्टासुल्टा अराजक अभिव्यक्ति दिइरहेका छन् । उनीहरूले प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई चिढ्याउँदा आउने परिणामबारे बेलैमा सोँच्नुपर्छ ।

Published : Wednesday, 2024 April 10, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया