गृहमन्त्री लामिछानेबारे बबाल भइरहेका बेला चितवनका २ जना सहकारी ठगहरू पक्राउ

भरतपुर । चितवनमा रहेको सनराईज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेन्द्रकुमार रिमाल र सचिव योगेन्द्र पाण्डे ठगीको आरोपमा पक्राउ परेका छन् ।

छ सय बढी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा रिमाल र पाण्डेलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लामो समयदेखि फरार रहेका उनीहरूलाई नवलपरको कावासोतीबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरूलाई नवलपरासीको छिपछिपे सहकारीमा पनि रकम हिनामिना गरेको आरोप लागेको छ ।

चितवनको लायन्सचोक, विकासचोक, चनौली र पार्वतीपूरमा कार्यालय स्थापना सहकारीले कारोबार गर्दै आएको थियो ।

करिब एक वर्षभन्दा अघिदेखि सहकारीका सञ्चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

सनराईज सहकारीका छ सयभन्दा बढी बचतकर्ताले ठगीको भन्दै उजुरी दिएका छन् ।

उनीहरूको करिब ३३ करोड रुपियाँ रकम सहकारीमा फसेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले बताए ।

उजुरी दिने क्रम जारी रहेकाले यो रकम अझै बढ्न सक्ने उनले बताएका छन् ।

सहकारीका सञ्चालक समितिका अध्यक्ष रिमालसहित उपाध्यक्ष सन्तोषी केसी, सचिव योगेन्द्र पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको थियो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डै एक अर्ब रुपियाँ गोर्खा मिडिया प्रा.लि.मा रवि लामिछानेले अपचलन र ठगी गरेको आरोप लागेका बेला चितवनको सनराईज सहकारीका ठगीका आरोपीहरू पक्राउ परेका छन् ।

Published : Wednesday, 2024 April 10, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया