राप्रपाको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यबाट अत्याधिक बल प्रयोग भयो : कांग्रेस नेता चौधरी

देउखुरी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को शान्तिपूर्ण प्रदर्शनमा राज्यको तर्फबाट निकै बल प्रयाग भएको भन्दै चिन्ता जनाएको छ ।

मंगलबार संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विज्ञप्ति जारी गरेर काठमाडौंमा राप्रपाको शान्तिपूर्ण प्रदर्शन जनप्रदर्शनमा राज्यको तर्फबाट अत्याधिक बल प्रयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

निवर्तमान मुख्यमन्त्री समेत रहेका चौधरीले राप्रपाको शान्तिपूर्ण जनप्रदर्शनमा बल प्रयोग हुनु दुखद् भएको बताए । उनले प्रर्दशनमा सहभागीहरूलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी गम्भीर घाइते बनाएको, केही सहभागीलाई पक्राउ गरिएकोप्रति कांग्रेस संसदीय दलका नेता चौधरीले विरोध जनाएका छन् ।

राप्रपाको शान्तिपूर्ण जनप्रदर्शनमा भएको चरम दमनको नेता चौधरीले घोर निन्दा एवम् भर्त्सना गरेका छन् । उनले घाइतेहरूको उपचार गर्न र पक्राउ गरिएकाहरूको बिनासर्त तत्काल रिहाइको माग गरेका छन् ।

Published : Wednesday, 2024 April 10, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया