सत्तारुढ दलकै सांसदद्वारा कांग्रेसको मागको समर्थन, रवि लामिछानेलाई राजीनामा दिन सुझाव

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सरकारले सुन्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै नेता पाण्डेले भने, ‘प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस् । यो कुरा निर्णय गरियोस् भनेर आवाज उठाइसकेपछि सत्तापक्षले सन्नै पर्छ ।’

‘सत्तापक्षले जबरजस्ती गरेर म हाउस चलाउँछु भनेर हुँदैन । काम लाग्दैन’, सांसद पाण्डेले भने ।

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि गम्भीर प्रश्न उठेपछि प्रमुख प्रतिपक्ष दलले माग गरेको संसदीय छानविन समिति बनाउन पाण्डेले आग्रह गरेका छन् । पाण्डेले सत्तापक्षको सांसद भएर पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको मागलाई सम्बोधन गर्न दवाव दिएका छन् ।

उनले भने, ‘आजभन्दा एक/ढेड महिना अगाडि । यो समीकरण बन्नुभन्दा अर्को समीकरण भएको बेलामा यि प्रतिपक्षमा बसेर के गरेका थिए ? तपाईहरूले सम्झिए हुन्छ । हैन ? सुन काण्डमा ।’

सांसद पाण्डेले भने, ‘समिति नबनिकन त्यो छानविन गर्ने सरकारको ती स्थायी संयन्त्र कुनै काम लाग्दैन, आयोग बन्नैपछ भनेर गरेको हो कि होइन ? आफैले नजिर बसाइ सकेको, एउटा कुरा ।’

‘दोस्रो कुरा आरोप लागिसकेको मन्त्रीले आफू बाहिर हटेर त्यो आरोपको क्लियर गरेर चोखिने अवसर पाउने । यो जबरजस्ती बस्न खोज्नु भनेको चाहिँ त्यहाँ कुछ बदमाशी छ भनेर शंका गर्ने ठाउँ छ’, पाण्डेले भने ।

‘त्यस कारणले उन (रवि लामिछाने)ले आफूलाई चोखो ठान्छन्, मैले कमजोरी गरेको छैन भन्ने ठान्छन् भने उनले चाहिँ ल ठीक छ म तयार छु भन्नुपर्छ’, सांसद पाण्डेले भने ।

सांसद पाण्डेले सभामुख देवराज घिमिरेले प्रतिपक्ष र सत्तापक्षलाई संसदमा भिडाउन खोजेको आरोप लगाएका छन् ।

उनले भने, ‘सभामुख भनेको जिन्दगीमा पहिलो चोटी प्रतिनिधिसभामा आएका छन् । यत्रो विधि मान्छे सांसदहरूले आफू जस्तै हैसियतका मान्छेले डाङ्ग–डुङ्ग भनेपछि सभामुखको सोझो मान्छे, कमलो मन, आँट हुँदैन नि ? यस्तो हुन्छ ।’

‘प्रतिपक्ष उठेका बेला सत्तापक्षलाई टाइम दिनै हुँदैन । किन भने त्यो लडाउने उपाय हो’, सांसद पाण्डेले भने, ‘दुइटालाई लडाउनु हुँदैन सभामुखले । सत्तापक्षलाई टाइम दिने भनेको प्रतिपक्षको विरुद्धमा बोल भनेको हो त्यो ।’

पाण्डेले भने, ‘प्रतिपक्षले एउटा माग राख्यो । प्रस्ताव राख्यो । त्यो प्रस्तावको बारेमा सहमति गर्ने, आदि कुराको लागि भूमिका खेल्ने आफैले हो । सहमति गराउने कोशिष गर्ने हो ।’

‘जबकि त्यो सहमति गराउन उहाँ आफै असफल हुनुहुन्छ’, पाण्डेले भने, ‘सत्तापक्षको एउटा सांसदलाई उभ्याएर ल दोहोरो लडाइँ खेल, बोलीमा भनाभन गर भनेर भन्या जस्तो हुन्छ । त्यस्तो कहिल्यै गर्नु हुँदैन । त्यो उहाँको कमजोरी हो । अज्ञानता पनि हो ।’

२०४६ सालदेखि नेताहरूको सम्पत्ति छानविन गरौँ भन्ने रास्वपाको मागप्रति सांसद पाण्डले भने, ‘उहाँ (रवि लामिछाने)को बारेमा कुरा उठेपछि अरुको खोज्नुपर्छ भन्यो छ ।’

‘उहाँ (रवि लामिछाने)हरूको चाहिँ कुछ कालै रहेछ है । यो आतंकै भयो । डर लाग्यो । भन्ने कुरा देखियो । खोलुन् । सबैको खोलौँ’, सांसद पाण्डेले भने ।

सांसद पाण्डेले एमालेका अध्यक्ष केपी ओलीले रवि लामिछाने बाहेक अरु सबैको फाइल खोलौँ भनेर बोलेको कुरा आफूले सुन्नमा आएको बताएका छन् ।

‘तर, मैले सुन्या छु हाम्रो देशको एकदम शीर्ष नेता केपी ओलीज्यू पूर्वप्रधानमन्त्रीजीले रवि बाहेक अरुको खोलौँ भन्नु भएको छ रे । सुनेको छु’, पाण्डेले भने ।

Published : Tuesday, 2024 April 9, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया