सरकारले रविबारे छानविन समितिको प्रस्ताव ल्याएन, सत्तापक्षले गरिमा भुलेर रमिता देखाए

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सरकारले सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानविन समितिको प्रस्ताव नल्याएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अबरुद्ध गरेको छ ।

मंगलबार निर्धारित समयभन्दा केही ढिला गरेर शुरु भएको बैठकमा कांग्रेसले आकस्मिक समय लिएर संसदीय छानविन समितिको माग गरेको थियो । कांग्रेसकी सचेतक सुशीला थिङले कांग्रेसको मागलाई सरकारलाई बेवास्ता गरेर थर्काउन र थलाउन खोजेको आरोप लगेकी थिइन् ।

कांग्रेसका सांसदहरू आफ्नो सिटमा उभिएर विरोध गरेपछि सत्तारुढ दलका सांसदहरूले पनि अराजक शैलीमा उभिएर बोल्न समय माग गरेका थिए । संसदीय परम्परा र नियमावलीअनुसार प्रमुख विपक्षी दलका सांसद उभिएका बेला सत्ता पक्षका सांसद उभिएर विरोध गर्नु हुँदैन । स्वभाव दिँदैन ।

तर, सहकारीको करीब एक अर्ब रकम अपचलन गरेको अभियोग लागेका गृहमन्त्री रवि लामिनेको विषयमा संसदीय छानविन समिति बनाउन सरकारले अटेर गरेपछि संसदमा मुठभेडको अवस्था सिर्जना भएको छ ।

लामिछानेको बचाउमा एमाले, माओवादी केन्द्र र रास्वपाका सांसदहरू संसदीय मर्यादा भुलेर जथाभावी बोलेका थिए ।

प्रमुख विपक्षी दलका सांसदहरू आफ्नो सिटमा उभिएर संसदीय छानविन समितिको माग गरिरहेका बेला संसदको बैठकमा बसेका गृहमन्त्री लामिछाने मुसुमुसु हाँसेर बसेका थिए । संसदको बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

Published : Tuesday, 2024 April 9, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया