कांग्रेस सचेतक सुशीला थिङको प्रश्न- रवि लामिछानेले १ अर्ब अपचलन गर्दा किन कारबाही हुँदैन ?

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहकारीको रकम अपचलन भएको तथ्य आउँदा पनि गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई किन कारबाही हुँदैन भनेर प्रश्न गरेकी छिन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय माग गरेर सचेतक थिङले भनिन्, ‘अर्बौंको रकम अपचलन भएको कुरा आएको छ । सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट एक अर्ब रुपियाँ गोरखा मिडियामा लगानी भएको छ ।’

‘यो १ अर्ब कम्पनीले लान पाउँछ कि पाउँदैन ? यो गैह्रकानूनी काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन ? पाउँछ भने यो गोरखा मिडिया प्रालिको सञ्चालक खोज्नु पर्दैन ?’, उनले प्रश्न गरेकी छिन् ।

‘गैह्रकानून गोरखा मिडिया कम्पनीले अर्बौं लिँदाको सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ? दण्ड हुन्छ कि हुँदैन ? भनेर प्रश्न गर्न चाहन्छु’, उनले भनेकी छिन् ।

‘रवि लामिछानेको ठाउँमा अरु जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला । कानून लाग्थ्यो होला’, उनले भनिन्, ‘अनि रवि लामिछाने भएकै कारण अनुसन्धान नै रोकिने ? यो कस्तो सरकार हो ? सरकार जवाफदेही हुनुपर्छ कि पर्दैन ?’

सरकारले कांग्रेसलाई गलाउने, थकाउने कार्य गर्न खोजेको भन्दै थिङले गम्भीर रुपमा लिएको बताइन् । उनले सहकारीको अर्बौं रकम ठगी र अपचनल भएको विषयमा संसदीय छानविन समिति नबन्दासम्म संसदको बैठक चल्न नसक्ने बताइन् ।

Published : Tuesday, 2024 April 9, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया