सरकार गम्भीर नभएपछि कांग्रेसले उठायो झन् कडा कदम, संसदको बैठक वा कुनै पनि कामकारवाही प्रभावित हुने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने नै सहकारीको रकम अपचलनमा मुछिदा पनि वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौं नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गरेको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले भनेको छ, ‘सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेको तथ्य र घटनाहरु सार्वजनिक भई सकेका छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न सहकारी संस्थाहरूमा व्यापक अनियमितता एवं ठगी भएको छ । लाखौं वचतकर्ताले सहकारीमा जम्मा गरेको अरबौं रकम दुरुपयोग, अपचलन, हिनामिना र ठगी भई लाखौं नागरिक पीडित भएका छन् ।’

‘आफ्नो जीवनको सम्पूर्ण आर्जन सहकारीबाट ठगी भई विचल्लीमा परेका आमनागरिकहरूको दयनीय अवस्था समेत देखिएको छ’, कांग्रेसले भनेको छ ।

‘सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेको तथ्य र घटनाहरू सार्वजनिक भई सकेका छन्’, विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेसले लामो समयदेखि माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको विषय उठाइ रहेको छ’, कांग्रेसले भनेको छ ।

‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौं नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यो बैठक नेपाली कांग्रेसले मन्त्री नै संलग्न सहकारी रकम अपचलन अपराधको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको सुनश्चितताको लागि संसदीय समिति गठन गर्न उठाएको मागलाई उचित ठहर गर्दछ ।’

‘साथै यो बैठक तत्काल संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछ’, कांग्रेसले भनेको छ, ‘यस विषयमा सरकार गम्भीर नभएमा संसदको बैठक वा कुनै पनि कामकारवाही प्रभावित हुने विषयमा सरकार नै जिम्मेवार हुने ठहर गर्दछ ।’

कांग्रेसले संसदीय छानविन समितिको प्रस्ताव सरकारले ल्याउनुपर्ने चेतावनी दिएको छ । अन्यथा संसद अबरुद्ध हुने र त्यसको जिम्मेवार सरकार रहने कांग्रेसले जनाएको छ ।

Published : Tuesday, 2024 April 9, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया