सभापति देउवाको निर्देशनले सांसदहरूमा उर्जा थपियो, एमाले पनि जोडिने सम्भावना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी विषयमा पछाडि हट्न नसकिने बताएका छन् ।

मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा देउवाले सहकारीपीडितको विषय संगठित रूपमा उठाउने बताए । उनले सहकारीको मुद्दामा पछि हट्नुपर्ने कारण नभएको बताएका छन् ।

सभापति देउवाको निर्देशनसँग कांग्रेस थप सशक्त रुपमा सहकारीको रकम ठगी प्रकरणमा उठाउँदै आएको आवाजलाई जबरजस्त रुपमा लिने भएको छ ।

देउवाले भने, ‘यति धेरै जनता सहकारीबाट ठगिएका छन्, पर्याप्त कानून पनि छ । लाखौँ जनता ठगिएका छन् । यो मुद्दा यसै छोड्नु हुँदैन ।’

सहकारीको मुद्दा कांग्रेसले छोडेमा पार्टीलाई जनताले साथ छोड्ने उनले बताएका छन् ।

रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेका विषयमा पनि कांग्रेसले उठाएका विषय अझ सशक्त रुपमा अगाडि बढाउने देउवाले निर्देशन दिएका छन् ।

‘लामिछानेविरूद्ध आएका प्रमाणहरू छानबिनका लागि पर्याप्त छन्’, देउवाले निर्देशन दिँदै भनेका छन् ।

‘लाखौँ जनता ठगिएका छन् । उनीहरूलाई न्याय दिनुपर्छ’, देउवाको भनाइ उदृत गर्दै एक नेताले भने, ‘दोषीलाई कारबाही हुनुपर्छ । पीडितले न्याय पाउनुपर्छ ।’

कांग्रेसले सहकारीको रकम ठगी भएको भन्दै संसदीय छानविन समितिको माग गर्दै आएको छ । गृहमन्त्री लामिछाने नै सहकारीको रकम ठगी प्रकरणमा मुछिएपछि प्रमुख विपक्षी दल कांग्रेसले जबरजस्त रुपमा कुरा उठाएको छ ।

सहकारी ठगीबारे संसदीय छानविन समिति बनाउँदा एमालेका नेताहरू पनि तानिने सम्भावना बढेर गएको छ । देशभरिका अधिकांश सहकारीमा एमालेको होल्ड छ । एमालेको नेतृत्व रहेका सहकारीले पनि रकम ठगी गरेका छन् ।

एमालेका नेताहरू फस्ने डरले एमालेले संसदीय छानविन समिति बनाउन रुचि देखाएको छैन ।

बैठकमा राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सहकारीमा एमाले पनि मुछिने सम्भावना रहेको धारणा राखेका छन् । सहकारी ठगीको कुरा उठाउँदा एमालेका नेता कार्यकर्ताले कांग्रेसमाथि आक्रमण हुन सक्ने भनेर सचेत समेत गराएका छन् ।

Published : Tuesday, 2024 April 9, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया