ओली–प्रचण्डको कुरा सुनेपछि कांग्रेस नेता बस्नेले भने– संघीय सरकार चाँडै नै परिवर्तन हुन्छ

भक्तपुर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले संघीय सरकार चाँडै नै परिवर्तन हुने बताएका छन् ।

नेपाली कांग्रेस सुनकोशी गाउँपालिका – काठमाडौं सम्पर्क समितिले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बस्नेतले अहिलेको सत्ता गठबन्धनको नभइ सहकार्यको आधारमा भएको बताए । उनले चाँडै एमाले र माओवादीको सहकार्य परिवर्तन हुने बताए ।

‘बागमती प्रदेश सरकार र संघीय सरकार यो गठबन्धन हैन, केही समयको सहकार्य हो’, उनले भने, ‘चाँडै दुवै सरकार परिवर्तन हुन्छ । सकेसम्म हामीले जनताको पक्षमा बढी काम गरौं ।’

एमाले र माओवादी केन्द्रको सरकारको आयुका विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले सरकार छिटै ढल्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीका अभिव्यक्तिले पनि अहिलेको एमाले–माओवादी गठबन्धनको सरकार धेरै लामो समय अगाडि बढ्ने संकेत गरेको छैन । माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन भन्दै आएका छन् । ओलीले गठबन्धन शब्दको विरोध गर्दै समीकरण बताउने गरेका छन् ।

उनले सिन्धुपाल्चोकमा ३९ वटा स्वास्थ्यचौकी भवन बनाउन एकै वर्ष बजेट व्यवस्थापन गरिदिएको बताएका छन् ।

सिन्धुपाल्चोकमा वडादेखि जिल्ला तहसम्म कांग्रेसले गरेजति अरु पार्टीले जितेको बेलामा विकास र काम हुन नसकेको बताए ।

कार्यक्रममा नेताहरू प्रेमध्वज लामा, मसिना खड्का भण्डारी, श्रवणकुमार जिसी, रामकुमार थापा, केदार क्षेत्री, प्रेम लामा, गाउँपालिका सभापति रूपकाजी लामालगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2024 April 8, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया