ढेड अर्बको वाइडबडी घोटाला मुद्दा दर्ता भएकै बेला जापानको टिकट र चार्टड फ्लाइट काण्ड उठ्यो

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स)का मार्केटिङ्ग निर्देशक टंकनिधि दाहालले सेटिङमा जापानको टिकट बिक्रीको अधिकार निकटका व्यक्तिका ट्राभल्स एजेन्सीहरूलाई दिएका कारण निकै फलिफाप भएको चर्चा छ ।

विगत २/३ वर्षमा दाहाललाई फलिफाप भएका कारण पेप्सीकोलातिर ४ तलाको भव्य भवन ठड्याएको निगममा कर्मचारीहरूबीच खासखुस हुने गरेको छ । निर्देशक दाहालको सम्पत्ति छानविनको माग गर्दै केही कर्मचारीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

जापानको सम्पूर्ण व्यापार आफ्नो सेटिङ मिलाइ मेघ केसीको ‘समेघ ट्राभल्स’ एजेन्सीमार्फत ‘गोचाली’ र ‘लुम्बिनी होलिडे’ जस्ता ट्रभल्ससँग मिलोमतो गरेर अकुत कमाइ गरेको निगमका एक कर्मचारीले आरोप लगाएका छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई समेत आफ्नो हातमा लिएर दुबईको ‘जिएसए’बाट ठूलो घोटाला गरेको कुरा सञ्चालक समितिका एक सदस्यले बताएका छन् । ती सदस्यले दाहालको हर्कत र गतिविधिबाट निकै आजित बनेको बताएका छन् । अब हुने बोर्डको बैठकमा निर्देशक दाहालका विषयमा गम्भीर रुपमा कुरा उठाउने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग पनि कुरा राख्ने ती सदस्यले बताए । मन्त्री तामाङसँग भेट्नका लागि ती सदस्यले समय माग समेत गरिसकेका छन् ।

भएको÷नभएको कुरा जोडेर तत्कालीन नायब महाप्रबन्धक जनक कलाखेती र हालका कर्पोरेट डाइरेक्टर अनिल घिमिरेको विरुद्धमा उजुरबाजुर गर्ने तथा पत्रपत्रिकामा समाचार लेखाउने गरेको निगमकै कर्मचारीहरू बताउँछन् । निर्देशक दाहालले कार्यकारी अध्यक्ष अधिकारीलाई कलाखेती र घिमिरेविरुद्ध उकास्ने काम गर्ने गरेको आरोप छ ।

दाहालले आफू निकटका कर्मचारीहरूसँग रवाफ देखाउँदै ‘पैसा अथाहा कमाइसकियो, अब नेपाल वायुसेवा निगमको मायामोह छैन, जागिर नभए पनि केही फरक पर्दैन, २/४ वटा गाडी र २/४ वटा बङ्गला किन्ने सम्पत्ति जोडीसकियो’ भन्ने गरेको चर्चा निगमभित्र छ ।

निगमभित्र दाहालले ‘नेताहरूलाई २÷४ करोड फालेर राजदूत पाइन्छ, यूरोपियन मुलुकमा राजदूत बनेर गइन्छ’ भन्दै हिँड्ने गरेको आरोप छ ।

चार्टर फ्लाइट मुद्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जगाएकोमा कार्यकारी अध्यक्ष अधिकारीलाई समेत आफ्नो पक्षमा पारेर दवाएका छन् । चार्टड फ्लाइटको कागजपत्रको मोटो फाइल तयार बनाएर निगमको भलो चिताउने कर्मचारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिने तयारी गरेको बुझिएको छ । निर्देशक दाहालको चङ्गुलबाट बचाउन निगमको कर्मचारीहरूले अख्तियारलाई गुहार्न लागेका हुन् ।

वाइडबडी घोटाला प्रकरणमा अख्तियारले तत्कालीन मन्त्री जीवनबहादुर शाही लगायत ३२ जना हवाइ माफियाहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेका बेला निगमका मार्केटिङ्ग निर्देशक दाहालको विषयमा जापानको टिकट र चार्टड फ्लाइटको विषयमा कर्मचारीहरूले जबरजस्त रुपमा कुरा उठाउन थालेका छन् ।

आरोपहरूका विषयमा प्रतिक्रिया लिन निर्देशक दाहालसँग पटक पटक फोन र म्यासेज गर्दा सम्पर्कमा आउन चाहेनन् ।

अख्तियारले ३२ जनाविरुद्ध १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रकम बिगो माग गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

पूर्वमन्त्रीसहित ३२ जना माफिया डनहरूलाई भ्रष्टाचार मुद्दा, राज्यको पौने २ अर्ब खाएको तथ्य बाहिरियो

Published : Sunday, 2024 April 7, 8:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया