राजनीति उल्टोपुल्टो हुँदोरहेछ, त्यसैमा रमाउन सक्नुपर्‍यो : डा.शशांक कोइराला

लमही । नेपाली कांग्रेसका नेता डा.शशांक कोइराले आफूलाई राजनीतिमा आउने ईच्छा नभएपनि साथीहरूको करकापले राजनीतिमा रमाइरहेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ को दोस्रो सम्मेलनलाई लमहीमा सम्वोधन गर्दै उनले मेडिकल साईन्सभन्दा राजनीति विल्कुल फरक क्षेत्र भएपनि यसैमा आफू एडजस्ट भइसकेको बताए ।

डा.कोइरालाले राजनीति उल्टोबाटोबाट चल्ने गरेको टिप्पणी गरेका छन् ।

‘२० वर्ष काम गरे टिचिङ्ग हस्पिटलमा । पेन्सन पाइसक्या थिएँ, सबैले भने राजनीति गर्नुस्, राजनीति गर्नुस् भने’, उनल भने, ‘मलाई त्यस्तो ईच्छा त थिएन तर, साथीभाइहरूले यत्रो कर गरे, बाध्यबस राजनीतिमा आउनुपर्‍यो ।’

उनले भने, ‘फकर के छ राजनीति र मेडिकल साईन्समा, मेडिकल साईन्स आफ्नो हातमा छ । कलामा छ । अप्रेसन गर्दा आफ्नो दिमाग र हातले गर्नुहुन्छ । राजनीति यस्तो चिज हो, आफुले सोचेको छ एउटा कुरा हुन्छ आर्कै कुरा । तर, आजकल म त्यसैमा रमाइराखेको छु ।’

‘राजनीति भनेको उल्टोपुल्टो हुँदोरहेछ, राजनीति गर्ने हो भने त्यसैमा रमाउन सक्नुपर्‍यो’, उनले भने ।

अहिले भष्ट्राचारहरूको फाईल खुलिरहेकोप्रति संकेत गर्दै नेता डा.कोइरालाले सबै पार्टीभित्र भष्ट्राचारीहरू रहेको बताएका छन् ।

उनले आफ्नो पार्टीभित्र पनि भष्ट्राचारीहरू रहेको थियो होला भनेर व्यङ्ग्य पनि गरेका छन् ।

उनले कांग्रेस पार्टी विचारले बलियो भएको बताएका छन् । उनले विश्वेश्वरप्रसाद कोइरालाले पार्टीलाई सहि दिशा निर्देश गर्न राम्रो नीति निर्माण गरेको बताए ।

कार्यकर्ताभन्दा पार्टीको विचार राम्रो भएको उनले बताएका छन् । डा.कोइरालाले महिलाहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

सम्मेलनमा नेताहरूले कांग्रेसलाई बलियो बनाउन संगठन विस्तार र सुदृढीकरणमा जोड दिएका छन् । अर्काको खुट्टामा उभिनुभन्दा पार्टी आफ्नै खुट्टामा उभिन सक्नुपर्ने, गठबन्धन गरेर जाँदा धोका पाएकाले अब गठबन्धन गर्न नहुनेबारेमा पार्टीले स्पष्ट धारणा बनाउन नेताहरूको सुझाव छ ।

क्षेत्रीय सम्मेलन उदघाटन कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्यहरू दीपक गिरी, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरेका साथै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, नेता जानकीलाल बस्नेत लगायतले सम्वोधन गरेका थिए ।

Published : Saturday, 2024 April 6, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया