‘कीर्ते र ठग’ प्रकरणमा रवि लामिछाने-केपी ओलीलाई गगन थापाले दिए जवाफ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्तिशाली भए पनि कानून सबैलाई बराबरी भएको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा थापाले कानूनभन्दा माथि कोही पनि नरहेको बताए । उनले नयाँ वा पुरानो जो भएपनि भ्रष्टाचारमा कारबाही हुनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछाने र उनको दलका नेता तथा मन्त्रीलाई लक्षित गरेर महामन्त्री थापाले कानूनको शासनभन्दा माथि कोही पनि नहुने बताए ।

सर्वसाधारणले गरेको ठगी, ठगी भएजस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने महामन्त्री थापाले बताए । उनले ठगी गर्ने शक्तिशालीलाई छुट दिन नहुने बताए ।

उनले सर्वसाधारणले गरेको कीर्ते, कीर्ते भएजस्तै शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘एउटा कम्युनिस्ट पार्टीको नेता, पूर्वप्रधानमन्त्रीले बेला बेलामा उभिएर के भनिदिनुहुन्छ भने कांग्रेसले उद्योग धन्दा बेचेर खायो भनिदिनुहुन्छ । ल अहिले कम्युनिस्ट पार्टीको सरकार छ ।’

‘प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी ओली हुनुहुन्छ’, थापाले भने ।

‘अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ, सबै कम्युनिस्ट पार्टीको सरकार छ’, उनले भने, ‘कांग्रेसलाई पटक पटक उद्योग कलकारखाना बेचेको आरोप लगाएको होइन, ल यसपालि बजेट तपाईँहरूले बनाउने, यसपालिको बजेटमा म सरकारलाई यहीँबाट सरकारसँग माग राख्छु, यो पटकको बजेटमा कांग्रेसले बेचेर खाएको हुनाले गर्दा तपाईँले यो पटक खोल्नुस् ल ।’

‘नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सरकारले चुरोट कारखाना खोलोस्’, थापाले भने, ‘जुत्ता, रक्सी, सिमेन्ट, कपडा खोल्नुस्, एउटा खोलेर देखाओस् ल । तपाईँहरूको हातमा डाडुपन्यू छ खोल्नुस् ।’

महामन्त्री थापाले भने, ‘उहाँहरूले खोल्नुहुन्न, उहाँहरूलाई थाहा छ, सरकारले चुरोट, रक्सी बनाउने होइन रहेछ ।’

Published : Saturday, 2024 April 6, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया