कांग्रेसको एक्लै बहुमत ल्याउने गरी काम गर्न सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार कामाडौंमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए ।

‘अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नु छैन, तपाईंहरूलाई थाहा नै छ’, देउवाले भने, ‘तर, अहिले यही कुरालाई मध्यनजर गरेर एक्लै जित्न सक्ने पार्टी, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ ।’

देउवाले भने, ‘सबै पार्टीका साथीहरू एक भएर लागेर आपसी समझदारी, समन्वय कायम गरी देशभर पार्टीलाई जिताउनु आवश्यक छ ।’

आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि पार्टीका नेताहरूलाई सभापति देउवाले बताएका छन् ।

उनले घात, अन्तर्घात नगरेर एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको उल्लेख गरेका छन् ।

सभापति देउवाले भने, ‘म सबै साथीहरूलाई पार्टीलाई एक बनाएर लैजान आग्रह गर्छु ।’

‘आपसमा घात, अन्तर्घात नगरेर एक भएर यो पार्टीलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनुपरेको छ हामीलाई’, उनले भने ।

‘बहुमत ल्याउनका लागि प्रयास मात्रै होइन, कम्मर कसेर लाग्नका लागि हार्दिक अनुरोध गर्दछु’, देउवाले भने ।

‘भोलिका दिनमा पार्टीलाई मजबुत गराउनका लागि शुभकामना दिन चाहन्छु’, सभापति देउवाले भनेका छन् ।

पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान पनि स्थानीय तहका कार्यकर्ताहरूलाई समझदारीका साथ काम गर्नुपर्ने उनले बताएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन भत्काउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेर गठबन्धन भत्काएपछि सभापति देउवाले एक्लै बहुमत ल्याउने गरी संगठन बनाउन निर्देशन दिएका छन् ।

कांग्रेसले गठबन्धनप्रति गरेको विश्वासलाई प्रचण्डले विश्वासघात गरेर एमालेसँग हिँडेपछि सभापति देउवाले निकै आफूलाई निकै गम्भीर बनाएका छन् ।

Published : Saturday, 2024 April 6, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया