कांग्रेसले सहकारी ठगीमा राजीनामा मागेको छैन, संसदीय छानविन समिति मागेको छ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिस्टहरूले सरकार टिकाउने बहानामा गलत कुरालाई जबरजस्ती रुपमा संरक्षण गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा भ्रातृ संघ समन्वय विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गरे । उनले कांग्रेसले विगतमा सरकारमा हुँदा संसदीय छानविन समितिहरू बनाएको भन्दै कम्युनिस्टहरू र नयाँ पार्टीहरूलाई कांग्रेसबाट सिक्न आग्रह गरेका छन् ।

उनले भने, ‘भ्रातृ संगठन भनेको नेपाली कांग्रेसको मेरुदण्ड हो । तरुण, विद्यार्थी, महिला लगायत अन्य सबै किसिमका भ्रातृ संगठनहरूलाई समन्वय गरेर बागमती प्रदेशमा नेपाली कांग्रेस के हो ? के गर्न चाहन्छ ? जनताले कांग्रेससँग किन भरोसा गर्ने ? सबै जिल्लाहरूमा गएर प्रशिक्षण कार्यक्रम गर्दै, गाउँवस्तीमा छिर्दै कांग्रेसको सिद्धान्त प्रतिवादन गरेका छन् ती नेताहरूका बारेमा जानकारी गराउनुपर्छ ।’

‘गिरिाजाप्रसाद कोइरालाले राजा छोड्न, माओवादीसँग नाता जोड्ने र शान्ति प्रक्रियामार्फत मुलुकलाई भय र त्रासमुक्त समाज निर्माण गर्ने भनेर माओवादीलाई यहाँसम्म ल्याइयो’, उनले भने ।

‘कांग्रेस समयअनुसार निर्णय गर्न सक्ने पार्टी हो । जनताको भावना र अफ्ठ्यारो बुझेर अगाडि बढ्ने पार्टी हो । कांग्रेस नीति र विधिमा स्पष्ट छ’, बानियाँले भने, ‘प्रजातन्त्रप्रति क्लियर छ । हतियार बोकेको माओवादी र राजा खोज्ने राप्रपा पनि यही प्रजातन्त्रमा आएको छ ।’

उनले भने, ‘संसदीय व्यवस्था मन नपराउने एमाले पनि लामो यात्रामा सँगसँगै हिडेको अवस्था छ ।’

‘यो व्यवस्थाभित्र गल्ती गरेका कमिकमजोरी भएका कांग्रेसले हिँजो विधिको निर्माण गर्दैगर्दा अख्तियार बनायो । अख्तियारबाट जति पनि नेपाली कांग्रेसका नेताहरू गलत गरेका छन् या कानून बमोजिम छ छैनन् अदालत छ । तर, गरेका मान्छेलाई किन कारबाही गरिस् ? हाम्रो नेता धेरै लामो कांग्रेसमा त्याग गरेको भनेर त्यसलाई छोड्नुपर्छ भनेर त्यसलाई कारबाही गर्नु पर्दैन भनेर भनेको छैन । तर, निष्पक्ष छानविन होस् भनेको छ’, उनले भने ।

‘शेरबहादुर देउवाको नेतृत्वमा सरकार हुँदा बजेटमा त्रुटि भयो, राजश्व दरमा बाहिर लिक भयो भनेर कुरा उठाएर संसदभित्र संसदीय छानविन समिति बनाउनु प¥यो भनेर प्रतिपक्षी एमालेले कुरा राख्दा कांग्रेसले प्रतिपक्षको भावनालाई सुनेर संसदीय छानविन समिति बनाउन तयार भयो । जनार्दन शर्मालाई राजीनामा गर्न लगायो । दोषी नदेखिएपछि फेरि मन्त्री बनाइयो’, उनले भने ।

‘एमाले र माओवादीले बनाएको सरकारको गृहमन्त्रीको बारेमा धेरै कुरा धेरै टिकाटिप्पणी हुँदा दुई वटा नागरिकता हुँदा, दुई वटा पासपोर्ट हुँदा सामान्य नागरिक भए आज जेल जानु पर्थ्यो’, उनले भने ।

‘सरकारलाई समर्थन गरेर बहुमत पु¥याउने नाममा सिटको कारणले बहुमत पु¥याउनु परेको हुनाले कारबाही हुन सकेन’, सभापति बानियाँले भने ।

‘सहकारीको ठगीको कुरा उठी रहेको छ । संसदमा जोडदार कुरा उठेको छ । राजीनामा नभए पनि संसदीय छानविन समिति त बन्नु प¥यो । किटानी जाहेरी परेको छ’, उनले भने ।

‘उहाँको (रवि लामिछाने), उहाँको श्रीमतीको नाम उहाँको पार्टीको उपसभापतिको नाम उठीरहँदा एमालेले जबरजस्ती हुँदैन भनेको छ । प्रधानमन्त्रीले न्यायाधीशको जस्तो कुरा गरेको छ । पुलिसले न्यायाधीशको जस्तो कुरा गरेको छ । केही देखिएन भनेको छ । छानविन नभइकन, संसदीय छानविन समिति नबनेमा गाह्रो अवस्था छ’, सभापति बानियाँले भने ।

‘प्रतिपक्षले उठाएको कुरालाई मानेको अवस्था छैन । कांग्रेस सुन काण्डमा समिति बनाउन तयार भयो । जनार्दन शर्माको बारेमा समिति बनाउन तयार भयो’, उनले भने ।

‘कम्युनिस्टहरू जबरजस्त गर्छन् । कम्युनिस्टसँग सरकारमा सहभागी भएका नयाँ पार्टीहरू जबरजस्ती गरिरहेका छन् । आफूले गरेका कुराले भ्रम सिर्जना गरेर मान्छेलाई सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्न खोजेका छन्’, सभापति बानियाँले भने ।

Published : Saturday, 2024 April 6, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया