रास्वपाका मन्त्री कांग्रेससँग मुठभेडमा उत्रिए, गगन-विश्वविरुद्ध दिए अराजक अभिव्यक्ति

काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललले आफूहरूको आलोचना गरेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आलोचना गरेका छन् ।

कांग्रेसले रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानविन समितिको माग गर्दै आएको छ । कांग्रेसले रास्वपाका नेता र मन्त्रीहरूको सहकारी प्रकरणमा छानविनको मागसहित आवाज उठाएपछि रास्वपाका मन्त्रीहरू अराजक शैलीमा प्रस्तुत हुन लागेका छन् । गृहमन्त्री लामिछानेले पनि कांग्रेस र कांग्रेसका नेताहरूविरुद्ध अराजक शैलीमा अभिव्यक्ति दिँदै आइरहेका बेला मन्त्री अर्यालले पनि उस्तै शैलीमा अभिव्यक्ति दिएका छन् ।

मन्त्री भएर आफ्नो मर्यादामा बस्नु पर्ने हुन्छ । प्रमुख प्रतिपक्षी दलले उठाएका कुरा र मागको सम्बोधन गर्नुपर्छ । तर, रास्वपाका मन्त्रीहरूले सार्वजनिक रुपमा कांग्रेसलाई ललकारी रहेका छन् । रास्वपाका मन्त्री तथा नेताहरूमा अहँकार र घमण्डले बास गरेको चर्चा हुन थालेको छ । उनीहरूमाथि कसैले प्रश्न वा आवाज उठाउँदा आलोचना गर्नेहरूप्रति असंहिष्णु तरिकाले प्रतिवाद गर्न लागेका छन् ।

मन्त्री अर्यालले रास्वपा आएपछि कांग्रेसका युवा नेताहरूलाई छटपटी भएको भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि सिधै हमला गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले देशको नेतृत्व गर्न कांग्रेसमा पालो कुरेर बसेका युवा नेताहरू रास्वपा आएपछि आफ्नो पालो नआउने डरले छटपटाएको आरोप लगाए ।

उनले भने, ‘उहाँहरुलाई कांग्रेसमा एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ भन्ने थियो । तर, रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरूमा छटपटी भएको छ ।’

लोकतन्त्रमा बोल्न पाउने अधिकार भएपनि कांग्रेसले रास्वपालाई बोल्नै नदिएको मन्त्री अर्यालले बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरूप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै चेतावनी दिएका छन् ।

उनले भने, ‘आजसम्म यो देशमा सहकारीको समस्या समाधानका लागि कुन चाहीँ राजनीतिक दलले के गर्‍यो ? कुन चाहिँ राजनीतिक दलले आज सदनमा समाधानको उपाय बोल्यो ? होइन, रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी । राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी । तपाईहरू जसले जसले सहकारीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूप्रति कुरा गरिरहनुभएको छ ।’

‘एक पटक घरमा गएर आफ्नो लकर खोलेर हेर्नुस्, कति वटा सहकारीको खाता तपाईंसँग छ’, मन्त्री अर्यालले भने, ‘ती सहकारीको अवस्था के छ र तपाईले के गर्नुभयो आजसम्म ? ति सहकारीलाई प्रयोग गरेर । हामीले खोज्न नपरेस् । हामीले अब पैसा तिर्नुपर्दैन । हाम्रा साथीहरूले त्यसै खोज्छन्, तपाईंहरू कुन कुन सहकारीमा हुनुहुन्छ, कुनकुन सहकारीमा अनियमितता गर्नुभयो, कुनकुन सहकारीको पैसा निकालेर जग्गा, गाडी किन्नुभयो, चुनाव जित्नुभयो, त्यो विषयमा हेर्न नपरेस् ।’

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माप्रति लक्षित गरेर मन्त्री अर्यालले भने, ‘हामीलाई उहाँहरूले लोकतन्त्र सिकाउनु हुन्छ, अझ युवाले । अचम्म लाग्छ । जनताले त भोट हालिहाल्छ नि तपाईले राम्रो काम गर्नुभयो भने । वाकतन्त्र, वाकतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, ए हाम्रो ७० वर्षको, ५० वर्षको इतिहास छ, लौ न त ठीकै छ, तपाईले नै सिकाएको लोकतन्त्रअनुसार हामीले पनि त बोल्न पाउँछ होला, तपाईले मात्रै बोल्ने लोकतन्त्र त भन्नुभएको होइन होला ।’

‘तपाईले प्रश्न नै प्रश्न गर्नुभयो, गाली नै गाली गर्नुभयो, अब तपाईहरुले यतिसम्म गर्नुभयो की कहाँ के बोल्नुहुन्छ भन्ने बिर्सिनुभयो, त्यस कारणले म त्यो सम्झाइदिन्छु, मेरा कमी कमजोरी के हो, मेरो मुखबाट उत्तर दिने मौका दिनुपर्छ, प्रश्न मात्रै दिने जाँचमा उत्तर नदिने भए प्रश्नको मतलव भएन’, उनल भने ।

‘उत्तर दिन दिनुस् भन्दा होइन, होइन, होइन, बोल्न पाउँदैनस्, तैँले बोल्न पाउँदैनस्, तँ सुनि मात्रै र, हामी गाली गरिरहन्छौँ, तैँले बोल्न पाउँदैनस् । गज्ज्व छ’, उनले भने, ‘गज्ज्वको लोकतन्त्र सिकाउनु भएछ ।’

Published : Saturday, 2024 April 6, 2:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया