विष्णु–शंकरको शक्ति संघर्ष लुम्बिनी र कर्णालीमा देखियो, जनार्दनलाई प्रत्यक्ष असर

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको आन्तरिक द्वन्द्व सहतमा देखिएको छ ।

पौडेल र पोखरेलको शक्ति संघर्षका कारण प्रदेश सरकार गठनमा केही असहजता देखिएको छ । लुम्बिनी प्रदेश सरकार गठनमा एमालेका महासचिव पोखरेल हाबी बनेका छन् । पोखरेल हाबी हुँदा लुम्बिनी प्रदेश सरकार एमालेले गुमाएको छ । माओवादी केन्द्रको भागमा लुम्बिनी प्रदेश सरकार परेको छ ।

लुम्बिनीको प्रत्यक्ष असर कर्णाली प्रदेशमा माओवादीलाई परेको छ । माओवादीले कर्णाली प्रदेश सरकार गुमाउन चाहेको थिएन । पौडेल र पोखरेलको द्वन्द्वले कर्णालीमा माओवादीलाई नोक्सान भएको छ ।

त्यति मात्रै कहाँ हो र ? एमालेका उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको कलहले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई समेत असर परेको छ । माओवादीका उपमहासचिवद्वय जनार्दन शर्मा र बर्षमान पुनबीच पनि शक्ति संघर्ष छ । पौडेल र पोखरेलको संघर्षमा अर्थमन्त्री समेत रहेका पुनले हल्का खेलेर कर्णाली प्रदेश सरकार एमालेलाई दिएर शर्मालाई सबक सिकाउन खोजेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेका उपाध्यक्ष पौडेल बलियो अवस्थामा छन् । महासचिव पोखरेल कमजोर मानिन्छन् । पौडेल र पोखरेल मिलेको जस्तो देखिए पनि उनीहरूबीच निकै कटुता रहेको एमालेका नेताहरूले बताउने गरेका छन् । महासचिव पोखरेल भन्दा उपाध्यक्ष पौडेल कार्यकर्ताका बीच लोकप्रिय मानिन्छन् । प्रतिनिधि सभाको निर्वाचनमा पौडेल रुपन्देहीबाट निर्वाचित भए । तर, पोखरेलले दाङमा हार व्यहोर्नु प¥यो । एमालेको लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पनि पौडेल निकटका छन् ।

महासचिव पोखरेलले लुम्बिनी प्रदेशमा एमालेको सरकार बनाउन दिएनन् । बरु लुम्बिनी प्रदेश माओवादी केन्द्रको भागमा दिएर कर्णाली प्रदेश लिन अध्यक्ष केपी ओलीलाई बाध्य बनाए ।

लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व पाएको भए उपाध्यक्ष पौडेल निकट मानिने लीला गिरी मुख्यमन्त्री हुने थिए । गिरी यसअघि पनि छोटो समय मुख्यमन्त्री बनेका थिए । गिरीलाई रोक्न महासचिव पोखरेलले सबै शक्ति लगाएका छन् ।

सत्ता गठबन्धन दलमा लुम्बिनीमा एमाले ठूलो छ । लुम्बिनीमा माओवादीको भन्दा एमालेको प्रभाव धेरै छ ।

कर्णालीमा माओवादीको प्रभाव धेरै छ । कर्णालीमा एमालेले मुख्यमन्त्री लिँदा महासचिव पोखरेललाई असर पर्दैन । किन भने कर्णालीमा मुख्यमन्त्री हुन लागेका यमलाल कँडेल अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् ।

Published : Friday, 2024 April 5, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया