इलाममा कांग्रेस-एमालेकै टक्कर, पहिला जमानत जफत गराएको रास्वपाको अवस्था कस्तो छ ?

काठमाडौं । प्रतिनिधि सभा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का निकै झिनो मतको अन्तरले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।

एमालेका नेम्वाङले कांग्रेसका खड्कालाई जम्मा ११४ मतले पराजित गरेका थिए । एमालेका नेम्वाङले ३० हजार २० मत पाएका थिए । कांग्रेसका खड्काले २९९०६ मत पाएका थिए ।

नेम्वाङको निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ । कांग्रेसले खड्कालाई टिकट दिएको छ । एमालेले नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई टिकट दिएको छ ।

कांग्रेसभित्रको अन्तरकलह साम्य हुने हो भने इलाम २ मा खड्काको जित सुनिश्चित सरह छ । अन्यथा खड्कालाई एमाले वा अन्य दलले भन्दा पनि आफ्नै पार्टीभित्रको अन्तर्घातले हारको सामना गर्नुपर्ने हुन्छ ।

टिकट लिनका लागि सबैले प्रयास गर्नुपर्छ । टिकट पाउन नसकिएमा जसले टिकट पाउँछ त्यसैलाई जिताउनुपर्छ ।

कांग्रेस अहिले प्रमुख प्रतिपक्षमा छ । कांग्रेस उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्नेछ । एमालेलाई माओवादी केन्द्र र सत्ता गठबन्धनका दलहरूले साथ दिनेछन् ।

यस्तो अवस्थामा कांग्रेसले सुझबुझका साथ अन्तरकलहलाई एकछिनका लागि थाँती राखेर खड्कालाई विजयी बनाउन लाग्नुपर्छ । कांग्रेस उपनिर्वाचनमा पराजित भयो भने त्यसको ठूलो असर पर्नेछ ।

त्यस बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश सापकोटाको जमानत जफत भएको थियो । रास्वपाका सापकोटाले १३८० मत पाएका थिए ।

रास्वपाका उम्मेदवार मिलन लिम्बू छन् । लिम्बूलाई विजयी बनाउने भनेर सहकारीको रकम ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछाने, सह–महामन्त्री कवीन्द्र बुर्लाकोटी लगायतका नेताहरू लागेका छन् । विगतको चुनावमा जमानत जफत भएको रास्वपाले यस पटक जमानत जफत हुनबाट बचाउन सक्छ वा सक्दैन हेर्न बाँकी छ । सहकारीको रकम ठगी काण्डमा परेका रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछाने निकै उत्साहित छन् । इलाम २ मा जितेर प्रतिनिधि सभामा २२ सिट बनाउने सपना देखेका छन् । लामिछानेको सपना साकार हुन बुथहरू कब्जा गर्नुपर्छ । अन्यथा रास्वपाले जमानत पनि जोगाउन गाह्रो हुनेछ ।

इलाममा पहिचानवादीहरूको आन्दोलनको प्रभाव छ । पहिचानवादीहरूले पनि आफ्नै उम्मेदवार उभ्याएका छन् । यस्तो अवस्थामा कांग्रेस र एमालेका बीच नै निकै प्रतिस्पर्धा हुनेछ ।

Published : Thursday, 2024 April 4, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया