इलाम २ र बुझाङ १ मा सभापति देउवाको न्यायपूर्ण प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनको उम्मेदवारका विषयमा छलफल गरेको छ ।

बुधबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय बोर्डको बैठकमा देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखेका छन् । खड्का इलाम कांग्रेसको सभापति र तत्कालीन समयमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग छिनोमतको अन्तरले पराजित भएको भन्दै सभापति देउवाले प्रस्ताव गरेका छन् ।

देउवाले उपनिर्वाचनको टिकटका लागि प्रस्ताव गरिएका दुबै उम्मेदवारलाई न्यायपूर्ण निर्णय हुनुपर्ने भन्दै उनीहरूको नाम प्रस्ताव गरेका छन् ।

सभापति देउवाले टिकट दिनुभन्दा अगाडि इलाम २ र बझाङ १ को टिकटका लागि आकांक्षीहरूको चित्त बुझाएर मात्रै टिकट दिन भनेपछि बिहीबार बिहानसम्म बैठक स्थगित भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेषराज आचार्यलाई टिकट दिनुपर्ने माग राखेका छन् । कांग्रेसको अर्को बैठक बिहीबार बिहान ९ बजे बुढानिलकण्ठमा बस्नेछ ।

बुधबारको बैठकमा सभापति देउवाले ४ मंसिर २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङसँग ११४ मतान्तरले मात्र पराजित भएकाले खड्कालाई नै टिकट दिएर न्याय गर्नुुपर्ने बताएका थिए ।

महामन्त्री थापाले भने इलाम–२ को पार्टी संरचनामा आचार्य लोकप्रिय भएकाले चुनाव जित्न उनैलाई टिकट दिनुपर्ने प्रस्ताव राखेको बुझिएको छ ।

बझाङको प्रदेशसभा १ निर्वाचन क्षेत्रमा सभापति देउवाले अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । महामन्त्री थापा समूहले नेता जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।

Published : Wednesday, 2024 April 3, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया