गृहमन्त्री लामिछानेकी पत्नी निकिता र भरत जंगमको सहकारीमा काठमाडौं महानगरद्वारा छापा

काठमाडौं । काठमाडौं महानगरपालिकाले साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा छापा मारेको छ ।

बुधबार महानगरपालिकाको सहकारी विभागले साई स्वागत सहकारीमा छापामारेर कागजपत्र कब्जा गरेको छ । महानगरपालिकाले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा सहकारीलाई निगरानीमा राखेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निवर्तमान उपाध्यक्ष हुन् ।

बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, सफ्टवेर लगायतका सामग्री महानगरपालिकाले कब्जा गरेको छ ।

उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको महानगरपालिकामा उजुरी परेको छ । निकिता पौडेलको समूहले ७० लाख रुपियाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप छ ।

संस्थाका पूर्वअध्यक्ष भरत जंगम हुन् । जंगम भ्रष्टाचार र सुशासनको नाममा जथाभावी बोल्दै आएका छन् । जंगमकै सहकारीले करोडौं ठगी गरेपछि काठमाडौं महानगरपालिकाले सहकारीमा छापामारेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले बचतकर्ताको रकम दुरुपयोग गरेर ठगी गर्ने सहकारीमाथि निगरानी बढाउँदै लगेका बेला भरत जंगम र निकिता पौडेलको सहकारीमा महानरपालिकाले छापामारेर कागजपत्र कब्जा गरेको छ ।

गृहमन्त्री लामिछाने नै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको अभियोगमा विवादमा परेका बेला पत्नी निकिता पनि विवादमा परेकी छिन् ।

Published : Wednesday, 2024 April 3, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया