जीबी राई र गृहमन्त्री लामिछाने सम्पर्कमा रहेको कांग्रेसद्वारा तथ्य र तर्क पेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी) गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहे बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद शर्माले अहिले गृहमन्त्री लामिछानेले जीबी राईलाई पक्राउ गर्न नचाहेको आरोप लगाए ।

शर्माले जीबी राई मलेसियामा रहेको सूचना आफूहरूसँग रहेको र गृहमन्त्री लामिछाने उनीसँग सम्पर्कमा रहेको बताए । जीबी राईलाई नेपाल ल्याउन किन ढिलाइ भइरहेको छ भनेर उनले प्रश्न गरेका छन् ।

संसदीय समितिको बैठकमा प्रहरी प्रमुखले सुपुर्दगी सन्धि नहुँदा जीबी राईलाई नेपाल झिकाउन नसकिएको अभिव्यक्ति दिएको प्रसङ्ग जोड्दै महामन्त्री शर्माले भने, ‘म गृहमन्त्रीजीलाई मलेसियाको कानून पढाउन चाहन्छु । मलेसियाको कानूनमा भनिएको छ कि कुनै पनि देशको कोही अभियुक्त छ भनेर सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गर्‍यो भने सुपुर्दगी गर्न सकिन्छ ।’

‘जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ?’, कांग्रेसका सांसद शर्माले गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिपक्षमा रहँदा सभापति लामिछानेले सरकारले जीबी राईलाई पक्राउ गर्नै नचाहेको भनेर आरोप लगाएको स्मरण गर्दै कांग्रेस महामन्त्री शर्माले अहिले आफू सरकारमा रहँदा गृहमन्त्री लामिछानेले जीबी राईलाई पक्राउ गर्न नचाहेको बताए ।

‘जीबी राई मलेसियामा छन् दुनियाँलाई थाहा छ’, शर्माले भने, ‘खोज्ने काम सरकारको निकायले गर्ला । तर हामीले पाएको सूचना अनुसार जीबी राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुहुन्छ ।’

उनले भने, ‘एउटा नयाँ बनेर आएको दलको उर्जालाई सम्मान गर्दै गर्दा फेरि पनि म देश दुनियाँले सुन्नेगरी के आग्रह गर्न चाहन्छु भने, रास्वपाभित्र एउटा कोर टिम रहेछ, यो समग्र गतिविधिमा सामेल छ, त्यहाँभित्र अर्को डोर टिम रहेछ, जो ढोकामा बसेर ढाकछोपको काम गर्छ । अनि पोर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दाबाद भनेर लेखिरहन्छ । यो कुरा आजको मितिमा मैले भन्नैपर्छ । प्रश्न ८० करोड रुपियाँ गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको हो ।’

शर्माले ७० करोड रुपियाँ फोनमा कुरा गर्दै सुनिएको तर डकुमेन्टमा नभएको कुराको आधारमा मन्त्रीबाट राजीनामा दिएका (गोकुल बास्कोटा) अहिले सांसदको रुपमा बसेको बताए । उनले ८० करोडको हिसाव खोज्न र संसदीय छानबिन समिति खोज्न संसदमा उभिएको बताए ।

शर्माले भने, ‘प्रधानमन्त्री र केही सांसदले उहाँ निर्दोष हुनुहुन्छ भन्नुभयो । अकबर र बीरबलको कथामा चोरको दारीमा सिन्को भनिसक्दा हत्त न पत्त दारी छामेजस्तो किन गर्नुभएको हो, प्रधानमन्त्रीदेखि अरूहरूले किन हो मैले बुझ्न सकिन । गृ

हमन्त्रीजीलाई पनि त्यहाँ रोष्टममा उभिएर ठूलो स्वरमा भन्न मन छ कि म निर्दोष छु । संयोगवश दारी पाल्नुभएको छ, दारी छाम्न हतार नगर्नुस् । को दोषी को निर्दोष भनेर न रोष्टमबाट न फ्लोरबाट यहाँबाट यो छुट्ट्याउने विधि हैन, पद्धतिमा यो कहिँपनि उल्लेख छैन । हामी चाहन्छौँ संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष हुन पाउने जुन हक छ त्यो उपयोग गर्न उहाँलाई दिऊँ ।’

Published : Wednesday, 2024 April 3, 1:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया