लामिछानेको बयान सुन्न सिंहदरबारमा कांग्रेस तयार, रास्वपाको कोरटिमबारे महामन्त्री शर्माको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले आफूहरूको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद शर्माले अन्यथा, आफूहरू कठोर हुने चेतावनी दिएका छन् । शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताएका हुन् ।

बुधबार आफूहरूको असहमतिका बाबजुत एजेण्डा राख्न खोजिएको भन्दै शर्माले सभामुखले त्यसलाई सच्याएको बताएका छन् ।

उनले भने, ‘यदि प्रमुख प्रतिपक्षको सहमति बेगर या कार्य व्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै पन प्रस्तुति रोष्ट्रमबाट आकस्मिक रुपमा गर्न लागियो भने त्यसमा फेरि प्रमुख प्रतिपक्षको विनम्रतापूर्वक तर, उत्तिकै कठोरतापूर्वक विमति रहने कुरा म पूर्वसूचना आजको हाउसमा सबै भन्द पहिले गर्न चाहन्छु ।’

सहकारीको रकम अपचलनबारे आरोपित रहेको भनी कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । संसदमा उठेका प्रश्नहरूको जवाफ संसदमै दिन चाहेको लामिछाने बताउँदै आएका छन् ।

कांग्रेसले लामिछानेलाई प्रतिनिधि सभाको रोष्ट्रममा सुन्न चाहेको छैन् । सहकारीको रकम हिनामिनामा लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ ।

कांग्रेसका सांसद शर्माले गृहमन्त्री लामिछानेलाई संसदीय समितिमा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका छन् ।

गृहमन्त्री लामिछाने सहकारीको ८० करोड रुपियाँ हिनामिना प्रकरणमा मुछिएको भन्दै संसदीय छानविन समितिको माग गरिरहेको छ ।

आफूहरूले संसदीय छानबिन समितिमा लामिछानेको जवाफ सुन्न चाहेको बताए । उनले भने, ‘माननीय गृहमन्त्री जीले भन्नुभयो म सार्वजनिक रूपमा बहस गर्न तयार छु । कहाँ आउनुपर्ने हो भन्नुस् म त्यहाँ आउन तयार छु भन्नुभयो । आउनुस् बहस गर्नका लागि म ठाउँ निर्धारित गर्न चाहन्छु । त्यो हो– नेपाल देशको काठमाडौं जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा म उहाँलाई निमन्त्रण गर्न चाहन्छु ।’

५ वटा शहरका ‘स’बाट नाम सुरू हुने ५ वटा सहकारीको ५० हजार बचतकर्ताको ८० करोड रुपियाँ हिनामिनामा लामिछानेको नाम मुछिएको भन्दै शर्माले उनीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने बताए ।

काठमाडौंको सुवर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको सहारा, नेपालगञ्जको समानता र वीरगञ्जको सानोपाइला सहकारी संस्थाबाट ५० हजारभन्दा बढी बचतकर्ताको ८० करोडभन्दा बढी रकम हिनामिना भएको उनको भनाइ छ ।

सांसद शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोर टिम नै सहकारीको रकम ठगीमा मुछिएको आरोप लगाएका छन् ।

शर्माले रास्वपाका सहमहामन्त्री विपिन आचार्य समेत सहकारीको रकम अपचलनमा मुछिएको बताए । ‘रास्वपाका एक जना आचार्य थरका सहमहामन्त्रीजीको नाममा गोर्खा मिडियामा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपियाँ प्रवाह भएको देखिन्छ । सूर्य दर्शन सहकारीबाट एक करोड प्रवाह भएको देखिन्छ’, सांसद शर्माले भने ।

कांग्रेसले सहकारीको रकम ठगीमा रास्वपाका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल र रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत आरोपित रहेको भनी प्रश्न उठाएको थियो ।

सांसद शर्माले रास्वपाको कोर टिम नै सहकारी ठगीमा आरोपित रहेको बताए । ‘नयाँ बनेर आएको दलको सम्मान गर्दैगर्दा देश दुनियाँले सुन्नेगरी आग्रह गर्न चाहन्छु– त्यहाँ भित्र एउटा कोर टिम रहेछ । जो यो (सहकारी ठगी) समग्र गतिविधिमा सामेल छ’, महामन्त्री शर्माले भनेका छन्, ‘त्यहाँ (रास्वपा)भित्र कोर टिम छ भित्र गएर काम गर्छ । डोर टिम ढोकामा बसेर ढाकछोप गर्छ । पुअर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दावाद भनेर फेसबुकमा लेखिरहन्छ ।’

Published : Wednesday, 2024 April 3, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया