इलाम २ का आकांक्षीहरूसँग कांग्रेसले परामर्श गर्ने, चित्त बुझाएर टिकट दिने

काठमाडौं । नेपाली कांग्रेसले इलाम २ को उपनिर्वाचनको टिकटका आकांक्षीहरूसँग छलफल गर्ने भएको छ ।

मंगलबार सभापति शेरबहादुर देउवाको निवासबुढानिलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले आकांक्षीहरूसँग छलफल गरेर टिकट दिने सहमति गरेको छ ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले एकजनाको नाम टुङ्गो लगाउँदा सिफारिसमा परेकालाई पनि बोलाएर छलफल गरी सम्झाउने नीति लिइएको बताए ।

सभापति देउवाले इलाम २ को टिकटका लागि आकांक्षी उम्मेदवारहरूसँग भेट गरेर परामर्श गरेपछि टिकट दिइनेछ ।

उनले भने, ‘सोमबार अनौपचारिक छलफल भएको थियो, मंगलबारको संसदीय बोर्डको औपचारिक बैठकमा सिफारिसमा आएका नाममाथि सबैले धारणा राखे पनि छलफल जारी रहेकाले बुधबार २ बजे बस्ने गरी बैठक टुंगिएको छ ।’

उनले भने, ‘आकांक्षी सातजना भएकाले एकजनाको पक्षमा निर्णयमा पुग्दा अरू साथीहरूलाई पनि बोलाएर छलफल गरेर सम्झाएर मात्र टुंगोमा पुगौँ भन्ने भएकाले छलफल लम्बिएको हो ।’

इलाम २ मा डम्बर खड्का, नगेन्द्र कुमाल, केशव थापा, भेषराज आचार्य, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको छ ।

विश्वकर्माले भने, ‘राष्ट्रिय व्यक्तित्वसँग चुनाव लडेर थोरै मतान्तरमा पराजित भएका कारण धेरै साथीहरूले डम्बरजीलाई नै दोहो¥याउँदा उपयुक्त हुने सुझाव दिनुभएको छ ।’

‘उहाँ (डम्बर खड्का) पार्टी जिल्ला सभापति पनि हो । भेषराजजीसहित दोस्रो, तेस्रोमा रहनुभएका उत्तिकै प्रतिस्पर्धी साथीहरू हुनुभएकाले सबैलाई मनाएर मात्र निर्णयमा पुग्ने पार्टीको निष्कर्ष हो’, विश्वकर्माले भने ।

कांग्रेसले महामन्त्री शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई इलामको वस्तुस्थिति बुझेर उम्मेदवारबारे प्रतिवेदनसहित सुझाव दिने जिम्मेवारी दिएको थियो ।

पछिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवार सभापति खड्का तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग एक सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए ।

सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग पराजित डम्बर खड्कालाई नै मौका दिनुपर्ने प्रस्ताव गरेका छन् ।

तर, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे र शेखर कोइराला नेता भेषराज आचार्यलाई टिकट दिनुपर्ने पक्षमा उभिएका छन् ।

Published : Wednesday, 2024 April 3, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया